हेटौंडा \ हेटौंडा लेडी जेसीजको आयोजनामा जारी जेसीज सप्ताह अन्र्तगत मंगलबार वक्तृत्वकला प्रतियोगिता कार्यक्रम र आत्म सुरक्षा तालिम भएको छ ।
'प्रभावका लागि कार्य' शीर्षकमा स्व. बुद्धरत्न शाक्य स्मृतीमा वक्तृत्वकला भएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा. शंकरनाथ उपाध्यायको प्रमुख अतिथ्यता रहेको थियो ।
प्रतियोगितामा १० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा उचित बजगाई प्रथम, सुनील न्यौपाने द्धितीय, सुदिन पौडेल तृतीय र मधु यादव सान्त्वना भएका थिए । उनीहरुले क्रमशः पाँच, तीन र दुई हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्राध्यापक निमेष निखील, निरा शर्मा र सुशीला पौडेलले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रममा हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठ बस्तीपुर जेसीजका कार्यकारीणी उपाध्यक्ष अमृत पाठक लगायत जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै आजै हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा आत्म सुरक्षा तालिम पनि भएको थियो । रोयल सिआरसीका अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयका नारायणप्रसाद भण्डारी, जेसीजका निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, प्रमुख प्रशिक्षक निशा गौतम, बस्तीपुर जेसीजका कार्यकारीणी उपाध्यक्ष अमृत पाठक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीजका पदाधिकारी, सदस्यहरु र विद्यालयका छात्रा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । आज भएका दुबै कार्यक्रम अध्यक्ष कविता पौडेलको सभाध्यक्षतामा भएको थियो ।
बुधबार भने स्व. बासु प्रसाद पौडेल स्मृती शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम र स्लो स्कुटी रेस कार्यक्रम गरिने मुल कार्यक्रम संयोजक एंव कार्यकारीणी उपाध्यक्ष सजिता केसीले बताइन् । उनले ३० गते विहान डेङ्गु विरुद्ध सचेतना कार्यक्रम गरी साँझ समापन तथा पुरस्कार वितरण गरिने बताएकी छिन् ।