हेटौँडा \ हेटौँडा २ स्थित सिद्धार्थ ल क्याम्पसको प्रथम क्याम्पस सभा शुक्रबार भएको छ । बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षतामा सभा भएको हो । सभालाई सम्बाधन गर्दै नेता बानियाँले प्रदेश राजधानीमा पहिलो पटक कानून विषयको स्नातक तहको अध्यापन कार्य सकरात्मक रहेको बताए ।
उनले व्यवस्थित र मर्यादित गरेर लैजानु पर्ने बताउँदै स्थानीय सरकारको स्वामीत्वमा तयार भएको समितिले आगामी दिनमा १९ वटै वडाबाट कम्तिमा एक जना विद्यार्थी छनौट गरि पढाईमा लगानी गर्नुपर्ने बताए । शिक्षामा लगानी खेर जादैन, त्यतर्फ वडाध्यक्षहरुको ध्यान जाओस्, उनले भने । धेरै सम्भावना भएको शहर हेटौंडा भएकाले हामी सबैको साझा जिम्मेवारी रहेकाले ल क्याम्पसलाई अन्य स्थानीय सरकारले पनि साथ सहयोग गर्नुपर्ने बताए ।
सभामा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले रोजगारीको लागि योग्य बनाउने मात्र नभई दक्षजनशक्ति बनाएर नेपालमै सीप र ज्ञानको प्रवाह गरिनुपर्ने बताए । कानूनी शिक्षा अग्रणी संस्था हो, आफु पनि जिम्मेवारीबोधका साथ पुरा गर्ने छु, उनले भने । सभामा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडेलले धेरै संघर्षका साथ ल क्याम्पस सञ्चालनमा ल्याइएको बताए । त्यस्तै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले हेटौंडा कानून विषयको स्नातक अध्यापन सुरु भएकोमा खुसी व्यक्त गर्दै आफ्नो क्षेत्र भौगोलिक विकटता र सीमान्तकृत समूदायको बसोबास भएकाले पनि शिक्षा क्षेत्रमा विस्तारै सुधार गर्दै आइरहेको बताए । यस क्याम्पससँग आवश्यकता अनुसार साथ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सभामा सञ्चालक समितिकी अध्यक्ष लामाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र कार्ययोजना प्रस्तुत गरेकी थिइन् । क्याम्पसले आन्तरिक परीक्षा सुव्यवस्थित गर्दै परीक्षाफलको विश्लेषण गर्ने नीति लिएको छ । त्यसैगरी क्याम्पसले विद्यार्थीहरुलाई वकालत र सार्वजनिक रुपमा बोल्ने सीप विकास गर्न मुट कोर्ट प्रतियोगिताहरु भाग लिन प्रोत्साहन गर्ने नीति बनाएको अध्यक्ष लामाले बताईन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडेल, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, क्याम्पसका उपाध्यक्ष राजेश बानियाँ, क्याम्पसका संस्थापक प्रमुख मोहनचन्द्र शर्मा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।
सभामा नेकपा माओवादी केन्द्रका संयोजक भीम पाख्रीन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्णु दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुर क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवाल, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, वरिष्ठ अधिवक्ता केशवप्रसाद गौतम, लगायतको आतिथ्यता रहेको थियो ।
६० जनाको कोटा रहेको यस क्याम्पसमा स्नातक तह प्रथम वर्षमा २९ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख जयराम सुवेदीले बताए । सिद्धार्थ माध्यमिक विद्यालयको भौतिक संरचना प्रयोग गरी हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापन र सञ्चालनमा सिद्धार्थ ल क्याम्पस स्थापना भएको हो । क्याम्पस सभामा सदस्य ७४ जना रहेको प्रमुख सुवेदीले बताए ।