हेटौँडा \ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले व्यवसायीको हितमा सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन् । शनिबार हेटौंडामा भएको नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभालाई सम्बोधन गर्दै मन्त्री काफ्लेले मोबाइल व्यवसायीहरुका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने काम भएको बताए ।
प्रदेश सरकार व्यवसायीहरुको कानूनी तथा नीतिगत असहजतामा सहजीकरण गर्न आफु प्रतिवद्ध रहेको बताउँदै भन्सार छली गरेर नेपाल आएका पुराना मोबाइललाई कानूनी दायरामा ल्याउने र मर्मत गरी पुनः प्रयोगमा ल्याउने महासंघको पहललाई राष्ट्रकै एजेन्डाका रुपमा अघि बढाउने बताए । केही भन्सारका विषयहरु रहेका छन् । त्यसको सहजीकरणमा संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार सदैव तत्पर रहेको छ’, मन्त्री काफ्लेले भने ।
करिब एक हजार व्यवसायी सहभागी रहेको सो कार्यक्रममा मोबाइल व्यवसाय क्षेत्रका वर्तमान अवस्था, समस्याहरु तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो । सभाबाट मोबाइल व्यवसायको सुधार, नीतिगत सहजीकरण र व्यवसायीको सशक्तिकरणतर्फ महत्वपूर्ण मार्गचित्र तय हुने विश्वास महासंघले लिएको छ ।
महासंघका अध्यक्ष भरत भट्टराईको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मोवाईल फोन इम्पोटेटर एशोसिएसन नेपालका अध्यक्ष दीपक मल्होत्रा, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, उद्योग वाणिज्य महासंघ प्रदेश कोषाध्यक्ष कविराज खत्री, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठी, प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभा अघि व्यवसायीहरुले शनिबार शान्तिपद यात्राको आयोजना गरेको थियो । कार्यक्रम स्थलबाट पारिजात पथ हुँदै स्कुल रोड, कान्तिराजपथ, हरिकुञ्जरोड हुँदै मउवा संघचोकबाट पुनः कार्यक्रम स्थल सम्म पद यात्रा गरिएको सभा तयारी संयोजक एंव उपाध्यक्ष छतेन्द्र आचार्यले बताए ।