हेटौडा \ बागमती प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन तथा प्रदेश स्तरीय सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा मंगलबार हेटौंडामा सम्पन्न कार्यक्रमबाट नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा प्रदेश स्तरीय नेटवर्क गठन भएको हो ।
नेटवर्कको सदस्यहरुमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता असिम घिसिङ लामा, बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हरिहर पोखरेल, उच्च अदालत बार यशोसियसनका अध्यक्ष मन प्रसाद भट्टराई, मानवअधिकार आयोगका बागमती प्रदेशका प्रमुख पवन प्रसाद भट्टराई, उद्योग परिषसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गैसस महासंघका आरसि न्यौपाने, वागमती प्रदेश प्रहरी कार्यालयका एसपी भिमकिरण बोगटी, प्रदेश नीति तथा योजना आयोगका उपसचिव अच्युत लामिछाने, गाउँपालिका महासंघ बागमतीका प्रतिनिधि, मानवअधिकार तथा नागरिक समाजका प्रतिनिधि कुमारी वाईवा, प्रदेशसभाका उपसचिव, पत्रकारहरुका प्रदेश स्तरीय संस्थाका प्रमुखहरु (प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, फोनिज र सञ्चारिका समूह), नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट रहेका छन । यस्तै समितिको सदस्य सचिवको जिम्मेवारीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडा रहने छन ।
युरोपियन युनियनको सहयोग तथा नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह र एकाउन्टिविलिटी ल्यावको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सञ्चार क्षेत्रलाई जवाफदेही, मर्यादित, व्यवसायीक र सुरक्षित बनाउन, मित्थ्या सूचना न्युनिकरण गर्न पत्रकारहरुको सशक्तिकरणका लागि सञ्जालको निर्माण र सम्वादको सुरुवात गरिएको बताए ।
यस्तै वागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले पत्रकारीता नागरिकप्रति जिम्मेवार हुनुपर्ने भूमिकामा रहेको र आमसञ्चारको श्रोत व्यापार व्यवसाय हुँदा तालमेल नमिलेको, सार्वजनिक खरिद ऐन र नियामावलीको प्रावधानले स्वरोजगार मिडियाहरु समस्यामा परेको बताए । सापकोटाले सामाजिक सञ्जालले नागरिकको गुनासो पोख्ने स्पेश दिए पनि आमसञ्चारको भूमिका निर्वाह नगर्ने बताए ।
उनले मिडिया साक्षरताको विषयलाई प्राथमिकता दिनुपर्ने र बहस गर्नुपर्ने बताएका छन । प्रशासकले पत्रकारलाई नभेट्नुपरे हुने जस्तो गरिरहेका बेला सञ्जाल निर्माणले सम्वादको सहज वातावरण निर्माण गर्ने बताए । सञ्जालले मिडिया, नागरिक, सुरक्षा र प्रशासनीक निकायसँगको सहकार्यमा बहस गर्न सहज हुने सापकोटाले बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखाका उपसचिव हरिहर पोखरेलले नकरात्मकता बढी रहेका बेला जनतालाई सकारात्मक बनाउनका लागि मिडियाले भूमिका खेल्ने बताए । उनले सोसल मिडियाले गलत समाचार र भ्रम फैलाउने काम गरेकोतर्फ सचेत गराउँदै नागरिकलाई सहि सूचना दिनका लागि सञ्जाल छलफलको फोरम बन्ने बताए ।
कार्यक्रममा सहभागि तथा नेटवर्कमा प्रतिनिधित्व गर्ने सरोकारवालाहरुले मित्थ्या सूचनालाई कम गर्न बहस र सम्वादको आवश्यकता रहेको, पत्रकारको सुरक्षा र पत्रकारीतालाई मर्यादित बनाउन सबैको भूमिका रहेको बताएका छन । उनीहरुले सञ्चारसँग रहेका विषयहरुमा बहस गर्न र समस्या समाधान गर्न सहज वातावरण नेटवर्कले निर्माण गर्ने विश्वास व्यक्त गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि हुमागाईले स्वागत गरेका थिए भने कार्यक्रमको विषयवस्तु र नेटवर्क निर्माणको उद्देश्यमाथि नेपाल पत्रकार महासंघका गिरिराज अधिकारीले प्रकाश पारेका थिए ।