हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाले तीन तहको सरकारको तालमेल नमिलेको बताएका छन् । शुक्रबार हेटौंडामा दुई दिने प्रदेश अन्तरगत गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सेवा प्रवाहका क्रममा कार्यसम्पादनमा परेका समस्या र कानूनी साक्षरता सम्बन्धमा भएको अभिमूखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै संघियता पछिको तीन तह सरकारको तालमेल, समन्वयकारी भूमिका नहुँदा समस्या उत्पन्न भएको बताए ।
संविधानमा तीनै तहका सरकारलाई एकल अधिकार प्रत्यायोजन गरिएको छ, तर यहाँ एक आपसमा असमझदारी पैदा भएकाले कार्य सम्पादनमा समस्या देखा परेको छ, मुख्यमन्त्री लामाले भने । सबैले एकल अधिकार प्रयोग गरेर ऐन कानून निर्माण गरी सरकार चलिरहेको बताए । उनले उपलब्धीमूलक काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै स्थानीय सरकारले प्रदेश सरकारले स्थापना गरेको योजना बैंकमा आफ्नो योजनाहरु दर्ता गर्न आग्रह गरे ।
योजना बैंकमा ५७ वटा पूर्वाधारका योजनाहरु रहेका छन्, हाम्रो एकल अधिकारमा प्रादेशिक सडकमात्रै पर्दछन् । अर्थतन्त्र बिग्रिन्छ भनेर नीति कार्यक्रम र बजेट घटाएर ल्याएको हुँ, मुख्यमन्त्री लामाले भने । अधुरा योजना धेरै छन् सानातिना गरेर १७ हजार भन्दा बढी योजना छ त्यसलाई सम्पन्न गर्न निकै कठिन रहेको मुख्यमन्त्री लामाले बताए । काम गर्न सार्वजनिक ऐनले गर्दा गाह्रो छ । बजेट पास गर्नु छ, माननीयलाई पनि मनाउनु पर्छ,आफ्नो क्षेत्रका स्थानीय तह पनि हेर्नै पर्यो, सबैतिर हेर्दाहेर्दै बजेटमा सबै योजना समेट्न नसक्दा स्थानीय तहका बहुवर्षिय हुने खालका एकएक वटा योजना दर्ता गर्न आग्रह गरे ।
गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशका सचिव कान्छालाल जिम्बाले स्थानीय सरकारका समस्या, समस्या समाधानका सवालका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना, महासंघका सल्लाहकार वंशलाल तामाङले आफ्नो विचार राखेका थिए ।
महासंघ प्रदेश समितिका अध्यक्ष कर्ण बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, पूर्व आयोगका उपाध्यक्ष डा. खीमलाल देवकोटा, मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह, महासंघका केन्द्रीय कार्यसम्पादन समिति सदस्य लोकबहादुर मुक्तान र दीपा बोहरा, केन्द्रीय सदस्य सीतामाया गुदु,सञ्जु प्याकुरेललगायतको आतिथ्यता रहेको थियो । अभिमूखीकरण कार्यक्रम शनिबार समापन हुनेछ ।