कैलाश \ कैलाश गाउँपालिकामा कार्यरत अंग्रेजी शिक्षकहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजना भएको आधारभूत, निम्न र माद्यामिक विद्यालय तहका अंग्रेजी शिक्षकहरुलाई चार दिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो ।
विहीबार भएको तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दीगो विकास लक्ष्यको लागि शिक्षा क्षेत्रको ठुलो भूमिका रहने भएकाले हामीले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए । उनले शिक्षामा लगानी अुनरुप नतिजा निकाल्न समय समयमा यस्ता पुनर्ताजगी तालिमहरुको आयोजना गर्दै आइरहेको बताए । प्रअहरुलाई पनि सिकाईको लागि तालिम भ्रमणहरु जस्ता क्रियाकलाप गर्दै आइरहेका छौं, र आगामी दिनहरुमा पनि गर्ने छौं, अध्यक्ष मुक्तानले भने ।
शिक्षक र विद्यार्थीको सामिप्यता ज्यादा हुनुपर्छ, हाम्रो क्षेत्रमा पढाईका विधिहरुमा पनि केही परिवर्तन गर्दै अध्यापन गराउन अध्यक्ष मुक्तानले शिक्षकहरुलाई आग्रह गरेका छन् । भौगोविलक विकटता छ, त्यसमा पनि अभिभावकमा चेतनाको कमी छ, सोही अनुरुप शिक्षामा विस्तारै परिवर्तन गरेर पढाउनुपर्ने बताए ।
गाउँपालिकाका विद्यालयहरुमा पूर्वाधारमै समस्या छ, त्यसले पर्याप्त मात्रामा सुविधा भएको तालिम केन्द्र नभएको अवस्थामै छिट्टै नै आवासीय व्यवस्था सहित तालिम केन्द्र सञ्चालन गर्ने सोच रहेको अध्यक्ष मुक्तानले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुनर्ताजगीले थप सोच विचार र पठनपाठनमा परिवर्तन हुनेमा विश्वास व्यक्त गरेका थिए । उनले समृद्ध कैलाश बनाउन शिक्षाको भूमिका महत्व रहने भएकाले शिक्षकहरुको सकरात्मक सोचले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण बनाउन सक्ने समेत बताए । अभिभावकमा चेतना छैन, विद्यार्थीलाई कसरी विद्यालय ल्याउने भन्ने तर्फ गाउँपालिका त छदैँ छ शिक्षकहरुले पनि ध्यान दिनु हुन आग्रह गरे ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुर्यप्रसाद घिमिरेले तालिम पश्चात भएको परिवर्तनलाई सुरुमै विद्यार्थीले आभाष हुने गरी कार्यान्वयन गर्न आग्रह गरे । सिकेको सीपलाई विद्यार्थीसँगै अन्य शिक्षकहरुसँग पनि साट्न सकिने घिमिरेले बताए । कार्यक्रममा सहभागीको तर्फबाट शिक्षकद्धय गीता थपलिया र अर्जुन राईले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

कालिका माध्यामिक विद्यालय नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय सुर्यप्रसाद घिमिरे र विवशजंग थापा, शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।