कैलाश \ कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिमको समापन भएको छ । विहीबार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको थियो । सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको थियो ।
वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले महिलाहरु नै संस्कार र संस्कृति हुन् । उनीहरु सौन्दर्यताको एक रुप रहेको बताए । सीप दीगोपनाका लागि टिकाउ र बिकाउ हुनुपर्ने बताउँदै अध्यक्ष मुक्तानले अब यहाँहरुको सीप बिक्नुपर्ने बताए । उनले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड रहेको भन्दै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको बताए ।
आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत छैन्, तैपनि प्रदेश र संघीय सरकारसँग तालिम सीपको लागि योजना माग गरेर भएपनि तालिमहरुको आयोजना गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । उनले सीप पश्चात व्यवसायिक रुपमा लाग्न सबै सहभागिहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सीप सिकेर उद्यम बन्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरेका छन् । व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोडर अघि बढ्नुपर्ने बताउँदै तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्ने जोड दिए । तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै व्यूटिसियन तालिम हामीले एडभान्स तालिम लिन सके अझै निखारिने बताईन् । समूहमा मिलेर वा एक्दै घरदैलो गरेर भएनि आफु सिकेको सीपलाई भरपुर सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने, ९ नम्बर वडा सचिव पुजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिमका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । एक महिने व्यूटिसियन तथा मेकअप तालिम तथा ३ दिने उद्यमशीलता तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।