हेटौंडा \ हेटौँडामा पहिलो पटक २ दिने सीप महोत्सव आयोजना हुने भएको छ । बागमती प्रदेश उद्योग परिसंघ तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा हुने भएको हो । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोस्रो, हेल्भेटास नेपाल र विभिन्न संघ संस्थाको सहयोगमा उक्त सीप महोत्सव हुन लागेको हो ।
सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्ने अभिप्रायका साथ यही असार १२ र १३ गते हेटौँडामा सीप महोत्सव आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको बारेमा जानकारी दिईएको छ । ‘हेटौँडामा पहिलो पटक २ दिने सीप महोत्सव आयोजना गर्न लागेको बताउँदै बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श, उद्योग भ्रमण र अनुभव साटासाट गर्ने अभिप्रायका साथ आयोजना गर्न लागेको बताएका छन् ।
महोत्सवमा बागमती प्रदेशस्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवाहरूलाई समूहमा वृत्ति परामर्श सहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण, सीप सिकाइ र प्रदर्शन, विद्यार्थीहरुलाई उद्योग भ्रमण, प्यानल डिष्कसन, सम्मान कार्यक्रम सञ्चालन हुने उनले बताए ।
मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालयहरूबाट छनौट गरी प्रदेश स्तरीय सीप महोत्सवमा सहभागी गराइनेछ । प्रत्येक शिक्षालयबाट प्रथम र द्वितीय हुने विजेतालाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिने बताइएको छ । महोत्सवमा तीन हजारदेखि पाँच हजारसम्मले अवलोकन गर्ने अनुमान गरिएको छ ।