मकवानपुरगढी \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७४ करोड ५ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको पालिकाको १२ औँ गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रीन वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
पालिकाले चालू खर्चतर्फ ४० करोड ७० लाख ६६ हजार रुपैयाँ र पुजिगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटका स्रोतहरुमा संघीय सरकारबाट ४३ करोड ६१ लाख, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले बजेटको केन्द्र कृषि क्षेत्रमा एक वडा, एक उत्पादन’ अभियानलाई प्रभावकारी बनाउने, विभिन्न वडामा धान, कोदो, जुनलो, तरकारी, गोलभेंडा, दूध, फलफूल, अदुवा, खुर्सानी र बेसारजस्ता उत्पादनहरूको बजारीकरणमा जोड दिने जनाएको छ ।
कृषकका लागि विशेष व्यवस्था, जैविक खेती प्रवर्द्धन, थप सिँचाइ प्रणाली विस्तार, माटो परीक्षण, रासायनिक मलको प्रयोग घटाउने प्रयास, बीउबिजनको उत्पादन र विस्तार, पशुपालनमा पनि जोड दिईएको छ । यस्तै, पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन प्रबर्द्धन, भौतिक विकासलगायत विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।