हेटौंडा \ हेटौंडामा भएको हत्याकाण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले मृतकको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र घाइतेको उपचार खर्चसमेत पीडकबाटै व्यहोर्ने आदेश दिएको छ।
अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलका २२ वर्षीय राहुल दासलाई एकै घरकी ३५ वर्षीया भाउजू गुडिया दासको हत्या गरेको र २८ वर्षीय माहिला दाजु रुपेश दासको हत्या गर्न खोजेको अभियोगमा दोषी ठहर गर्दै सो फैसला सुनाएको हो।
अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार, भाउजूको हत्या अभियोगमा राहुललाई २५ वर्ष र माहिला दाजु रुपेशको हत्या प्रयासमा १० वर्ष थप गरी जम्मा ३५ वर्ष कैदको सजाय तोकिएको हो। साथै, अदालतले पीडित पक्षलाई १० लाख क्षतिपूर्ति दिलाउन आदेश दिएको छ भने १ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ। हाल दोषी राहुल भीमफेदी कारागारमा रहेका छन्।
भाउजूको हत्या, दाजु हत्या प्रयास, लागुऔषधको लत र घरेलु त्रासदी
घरको कोठामा सुतिरहेकी भाउजू गुडिया दासमाथि राहुलले खुकुरी प्रहार गरी हत्या गरेका थिए। तीन सन्तानकी आमा गुडियालाई खुकुरी प्रहार गरेर हत्या गरी राहुलले शवलाई सिरकले ढाकेको थिए।
हत्या लगत्तै माहिला दाजु रुपेश दासमाथि समेत आक्रमण गर्दै खुकुरी प्रहार गरेका थिए। घाँटी र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका रुपेशको उपचार जारी छ।
प्रहरी अनुसन्धान अनुसार, आरोपी राहुल लागुऔषधको लतमा फसेका थिए। भाउजू गुडियाले उनलाई लागुऔषध सेवन नगर्न निरन्तर सम्झाइरहेकी थिइन्। त्यसकै प्रतिशोधमा उनले हत्या गरेको खुलेको छ। माहिला दाजु रुपेशले समेत भाइ राहुललाई लागुऔषध नछोडेको भन्दै बारम्बार सम्झाइरहेका थिए। यही विषयमा घरेलु विवाद गहिरिँदै जाँदा हिंसात्मक रूप लिएको बताइएको छ।
वैदेशिक रोजगारीमा जेठा दाजु, घरमा त्रासदी
हत्या गरिएकी गुडियाका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा पाँच महिना अघि कतार गएका थिए। परिवारमा जेठा दाजु रोशन, माहिला दाजु रुपेश र कान्छा राहुल गरी तीन दाजुभाइ थिए। घरमा भाइबहिनी मिलेर बस्ने गर्थे। घटनाका बेला घरमा जेठा दाजु नरहेकाले परिवारमा थप पीडा थपिएको छ।
न्यायिक निर्णयमा सन्तोष, तर सन्तानको भविष्यमाथि चिन्ता
मृतक गुडियाका तीनजना सन्तान छन्। आमाको हत्या र बुवाको विदेश बसाइले उनीहरूको संरक्षण, शिक्षा र भविष्यमाथि अन्योल उत्पन्न भएको स्थानीयको भनाइ छ। अदालतको निर्णयपछि मृतकका आफन्त र स्थानीयले न्याय पाएको महसुस गरे पनि घटनाको गहिरो असर उनीहरूको सामाजिक र मानसिक अवस्थामाथि परेको देखिएको छ।
लागुऔषधले ल्याउने अपराध
यो घटनाले लागुऔषध दुर्व्यसनले कसरी एउटा परिवार ध्वस्त बनाउन सक्छ भन्ने गम्भीर सन्देश दिएको छ। घरेलु वातावरणमा लागुऔषधजन्य मनोवृत्ति र क्रोधले जुन स्तरसम्म हिंसा निम्त्याउन सक्छ, राहुल दासको घटनाले त्यसको भयावह उदाहरण पेश गरेको छ।