कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बन्ने भएको छ । वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखी जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए । सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका छन् ।
०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमती सँगै बस्दै आइरहेका छन् । लालकुमारको २ कट्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् ।
उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहेकी छिन् । खेतीसँगै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम प्रदान गरेका छन् । पालिका भित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् जस मध्ये लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताए ।

सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं, अध्यक्ष मुक्तानले भने । सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलाे किस्ता स्वरुप दुई लाख सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नागरिक गासवास र कपासबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारकाे घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए ।
पत्र पेश कार्यक्रममा कैलाश १ का वडाध्यक्ष तेज ब्लाेन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदास कुमार भुलन, ८ का अध्यक्ष आशिष् प्रजा, ९ का अध्यक्ष भुवन सिं घलान, कैलाश गाउँपालिकाका नेपाली काङ्ग्रेस वडातहका सभापतिहरुकाे उपस्थिति रहेकाे थियो ।
यस अघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन् ।
