ललितपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर र सिन्धुली जाने सवारी साधनको आवागमनलाई सहज बनाउन नयाँ नियम जारी गरेको छ ।
असोज ७ गते (आइतबार) देखि कोजागत पूर्णिमा (असोज २१ गते) मंगलबार सम्म लागु हुने यो नियमअनुसार सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनका लागि आवागमनको समय बढाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार अब ३० टन भारवहन क्षमता र अधिकतम १० चक्के सवारी साधनहरू मात्र कान्ति लोकपथमा चल्न पाउनेछन् । यी सवारी साधनहरू बेलुका ९ बजेसम्म तोकिएको प्रवेश वा प्रस्थान विन्दुमा पुगिसक्नुपर्नेछ ।
तोकिएका प्रवेश र प्रस्थान विन्दुहरू
१. मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दुः बगुवा, बागमती गाउँपालिका वडा नं २
२. ललितपुर जिल्लाबाट प्रस्थान विन्दु (मकवानपुरतर्फ) : टीकाभैरव, गोदावरी नगरपालिका वडा नं ६
जिल्ला प्रशासन कार्यालयले मनसुन वर्षाको पूर्वानुमान कायम रहेको र सडकका विभिन्न खण्डमा पहिरोजन्य तथा अन्य जोखिम विद्यमान रहेको भन्दै विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
सवारी साधन सञ्चालनमा कुनै कठिनाई नआओस् भन्नका लागि सुरक्षाकर्मीले दिने जानकारीअनुरुप मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन कायम राखी सतर्कता र सावधानीपूर्वक यात्रा गर्नसमेत सूचनामा विशेष अनुरोध गरिएको छ ।
यी नयाँ नियमहरू चाडपर्वका बेला हुने अत्यधिक सवारी चापलाई व्यवस्थित गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्नका लागि ल्याइएको प्रशासनले जनाएको छ ।