कार्तिक १७, कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० का पाँचवटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका बीच कोशीराङ-घट्टेचौर, कुमलटार, भाल्टार, सागिने र बाँझोखेत टोललाई वडा अध्यक्ष सुर्यबहादुर ब्लोनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले खानेपानी आम नागरिकको नैसर्गिक र मौलिक अधिकार रहेको बताए । खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको अध्यक्ष मुक्तानले बताए । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको छ, दर्ता भएका मुहानको विपदमा भत्किएको अवस्थामा बीमा मार्फत निर्माण गर्न सहज रहन्छ, मुक्तानले भने । खानेपानी शुद्धीकरण गर्न फिल्टर समेत वितरण गरिएको फिल्टरको मात्रै पानी प्रयोग गर्न आग्रह गरेका छन् ।
पानीका ट्याङ्की लगायत अन्य संरचना संरक्षण गर्नु यहाँहरुको दायित्व हो, सबै मिलेर व्यवस्थापन गर्न अध्यक्ष मुक्तानले निर्देशन दिए । ३ हजार देखी पैतीस सय घरधुरीमा एक घर एक धारा निर्माण गरिने लक्ष्य राखिएको उनले बताए । खानेपानी मात्र नभई सरसफाईमा समेत ध्यान दिन आग्रह गर्दै गाउँपालिकाले खानेपानीको क्षेत्र सहित विकास निर्माणका सडक तथा अन्य भौतिक संरचनाका कार्यहरु धमाधम भइरहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाईका सूचक र उपसुचकलाई पालना गर्न अनुरोध गरेका थिए । गरिएको प्रतिवद्धता अनुरुप काम गरिनुपर्ने बताउँदै खानेपानीको मुहानदेखी घरको धारासम्मका संरचना संरक्षण गर्नुपर्ने बताए । खानेपानी हामी सबैको मौलिक हक हो, शुद्ध खानेपानी पिउनका लागि गाउँपालिकाले साझेदारीमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए ।
फोहार पानी पिउँदा विभिन्न रोगव्यादी लाग्ने वडाध्यक्ष सुर्यबहादुर ब्लोनले बताए । उनले मुहानदेखी भान्सासम्म पानी सफा हुनका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको दायित्व रहेको बताए । वडामा ५३ वटा टोल छन्, पहिलो पटक टोल घोषणा गरियो, सरसफाई र स्वच्छताको काम हेर्न अन्य ठाउँको मानिसहरु यस टोलमा आउने गरि काम गर्न आग्रह गरे । गर्ने गराउने, सिक्ने सिकाउने कामलाई निरन्तरता दिन सकियो भने नमूना टोल बन्ने उनले बताए ।

तल्लो क्षेत्रको टोलमा घर, होटल, तथा सार्वजनिक निकायबाट निस्केका फोहोर व्यवस्थापनका लागि उचित स्थान निर्माण गरिनुपर्ने बताएका थिए । उनले घोषणा भएका टोलबासीलाई शौचालय कार्ड वडाबाट वितरण गरिने भएकाले वडामा आउन समेत अनुरोध गरे ।
कार्यक्रममा ग्रामीण पुर्ननिर्माण केन्द्र(आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदुशित पानीले ६० प्रतिशत रोग लाग्ने बताए । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरि साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको बताए । सचेतना बढाउनुस्, सोच बदल्नुस । पानीको महत्व फराकिलो रहेको उनले बताए । सरसफाईका ७ सुचक र २३ वटा उपसुचकलाई सबैले पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य सुन्तली सुनुवार, वडा सदस्यद्धय जुनसरी राई र दिनेश कुमार थिङ, पूर्व वडा अध्यक्ष माणिकलाल मोक्तान, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोषकुमार सिंह, कोशीराङ-घट्टेचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष संवेग सिन्तान, शान्ति श्रृजना आधारभूत विद्यालयका अध्यक्ष कमल अर्याल, खानेपानी समितिका अध्यक्ष हर्क बहादुर तितुङलगायतको आतिथ्यता रहेको थियो ।
कोशीराङ-घट्टेचौरटोलमा ३३ घरधुरी र कुमलटार, भाल्टार, सागिने र बाँझोखेत टोलमा ९५ घरधुरीमा एक घर एक धारा निर्माण भएका छन् । सागिने टोल भने वडा नम्बर ९ मा पर्दछ ।