हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयले आफ्नो विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । सोही अवसरमा विद्यालयले एक सातासम्म विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
मंसिर १ गते देखी ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि महोत्सव मनाउने विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले बताए । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रअ कार्कीले जिल्ला स्तरीय, गाउँपालिका स्तरीय र विद्यालय स्तरीयका बिभिन्न कार्यक्रमको आयोजना गरिने बताए ।
विद्यालयको स्वर्ण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँपालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भूपु विद्यार्थी मित्र मिलन कार्यक्रम, विज्ञान प्रदर्शनी विद्यालयमा वृहत रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण शिविर, विद्यालय वृत चित्र प्रदर्शन , सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन र प्रदर्शनी, स्वर्ण जयन्ती गान वा विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण विद्यालय स्मृति चिन्ह वा स्वर्ण जयन्ती शिला पत्रको अनावरण, अभिभावक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायत ५८ वटा कार्यक्रम गरिने प्रधानध्यापक कार्कीले बताए ।
विद्यालयको स्वर्ण महोत्सवमा करिब १५ लाख खर्च हुने अनुमान रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले बताए । विद्यालयले यसवर्ष दुई दिन देउसी भैलो खेलेर १३ लाख रुपैयाँ भन्दा धेरै रकम संकलन गरेका छौं, बाकीँ खर्च वडा र पालिकाबाटको सहयोग रहन्छ, अध्यक्ष सापकोटाले भने । सकभर कम खर्चमा कार्यक्रम सक्ने योजना रहेको बताउँदै बचेको रकम विद्यार्थीको छात्रवृति कोषमा राख्ने उनले बताए ।
स्वर्ण महोत्सव कार्यक्रमका लागि वडा बाट २ लाख ५० हजार रकम छुट्याइएको वडा ५ का वडा अध्यक्ष दिपेश दहालले बताए । स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आइरहेको अवस्थामा हामीले कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा ५ का अध्यक्ष दिपेश दहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रदेश समिति उपाध्यक्ष हरि हुमागाई, विद्यालय समितिका सदस्य हिरामणी दाहाल, पिटी अध्यक्ष नवराज हुमागाई लगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा हाल ५ सय १४ जना विद्यालय अध्ययनरत छन् ।