कैलाश \ १० वटा स्थानीय तह रहेको मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका अवैध रुपमा गाँजा र अफिम खेती हुने स्थानीय तहको नामले परिचित छन्। यहाँका प्रायः पुरुषहरू अवैध लागुऔषध ओसारपसार मुद्दामा कारागार जीवन बिताइरहेका छन्। सडक सञ्जालको पहुँच र जनचेतनाको अभावका कारण अवैध खेतीलाई मुख्य पेसा बनाउने यहाँका स्थानीयहरूको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ।
कैलाश गाउँपालिका–४ की ५५ वर्षीय राधा रिजाल भर्खरै जोतेको खेतमा गोठे मल फिजाउँदै थिइन्। घरसँगै जोडिएको खेतमा यसअघि धान लगाएकी उनले अब भने तीनवटा गह्रामा तोरी छर्ने तयारीमा छन्। एउटा गह्रोमा भने आलु लगाउने उनको योजना छ। खेत जोत्नका लागि हाते ट्याक्टर प्रयोग गरिएको छ, छिमेकी भाइको ट्याक्टरको सहायताले उनी हिउँदे बाली लगाउनमा व्यस्त देखिन्छिन्।
आलु रोप्ने तयारी गरिएको खेतको गह्रो हातले देखाउँदै उनले भनिन्, ‘मान्छेहरू छिट्टै धनी बन्न गाँजा रोप्छन्, अफिम रोप्छन्। खानको लागि अन्न र पैसा त तरकारी खेती गरे पनि राम्रै हुन्छ नि। पोहोर पनि यही गह्रोमा आलु लगाएर बेचेकी थिएँ। यो पटक पनि लगाउने तयारीमा छु।’
यता, मेनुका थोकरको ग्रिन हाउस टनेलमा लोकल काँक्रो लहलह भएका छन्। कतै अकबरे खुर्सानी त कतै काउली बेच्ने बेला भएको छ। टडेँलो नजिकै रहेको खेतको धान झार्नका लागि १० जना खेताला खेतमै छन्। खेतीपाती स्याहार्न भ्याइनभ्याइ हुने गरेको मेनुका बताउँछिन्।
‘पहिले/पहिले त केही रोप्न जान्दैनथ्यो। हामीले पनि गाँजा लगायो, उनले भनिन्, ‘तर अहिले त गाउँपालिकाले प्लाष्टिकको यो घर बनाइदिएको छ। यहाँ जे रोपे पनि राम्रो फल्छ। ज्यान पाल्नको लागि गाँजा नै रोप्नपर्छ भन्ने चाहिँ हुँदैन रैछ। मेहेनत गरे तरकारीबाटै राम्रो आम्दानी गर्न सकिन्छ । गाँजाको आम्दानी कुर्न वर्षदिन लाग्थ्यो भने तरकारी त ४५ दिनबाटै फल्न थाल्छ।’
मेनुकाको परिवारदेखि माइतीसम्म र छिमेकीहरूले समेत गाँजा खेती छोडेर व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाई छ। केही समय अघिसम्म मकवानपुरको विकट पालिकाको रुपमा चिनिने कैलाश गाउँपालिकाका पाखोबारीदेखि बेँशीका खेतसम्म गाँजा, अफिम जस्ता अवैध लागुऔषधको खेती गरिन्थ्यो। सडक सञ्जाल नहुँदा ती लागुऔषधको भारी बोकेर बजार झर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका दर्जनौं स्थानीयहरू यतिबेला पनि कारागारमा छन्।
पहिल्यैदेखि नै गाँजा रोप्न जानेका स्थानीयले वर्षौंसम्म पनि आफ्ना खेतबारीमा अवैध लागुऔषधकै खेती गरे। तर पछिल्लो समय भने कैलाशका पाखाहरूमा पहेँलै तोरी फुलेका छन्। खेतमा फलेका धान भित्र्याउने चटारो छ। कतै कोदो पाकेर टिप्न हतार छ भने कतै काउली, काँक्रो, रायोको साग, मुला, अदुवा जस्ता नगदेबालीहरू लहलह भएका छन्। गाउँमा सडक सञ्जालको पहुँच, पर्याप्त सिँचाइ सुविधा र बजारको चिन्ता हटेपछि यहाँका स्थानीय अन्नबाली तथा तरकारी खेती गरेर आयआर्जनमा जोडिन थालेका हुन्।
त्यसो त, आफ्ना स्थानीय तहका नागरिकहरूलाई सुरक्षित राख्न अवैध लागुऔषधको खेती त्यागेर व्यावसायिक कृषि पेशामा केन्द्रित गर्न कैलाश गाउँपालिकाले हरेक वर्ष कृषि तथा पशुपालनका क्षेत्रमा नयाँ नयाँ योजनाहरू ल्याउने गरेको छ। सडक सञ्जालको पहुँचमा वृद्धि भएपछि चालु आर्थिक वर्षबाट गाँजाको विकल्पमा अन्नबाली तथा तरकारी खेतीतर्फ स्थानीयको लगाब बढेको कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान बताउँछन्।
‘यहाँका स्थानीयहरू पछिल्लो समय अन्नबाली खेती गर्न थालेका छन्। पहिलेको जस्तो गाँजा, अफिम खेती कम हुँदै गएको छ,’ उनले भने, ‘अब कैलाशका स्थानीयहरूले गाँजा र अफिम भन्दा पनि धान रोप्नु पर्छ, मकै रोप्नुपर्छ। बेमौसमी तरकारी रोप्नुपर्छ भन्ने मनस्थिती बदलिएको छ। यसको प्रमुख देन सडक सञ्जाल नै हो।’
अध्यक्ष मुक्तानले थपे, ‘कृषिजन्य सामाग्रीहरू बजारीकरणको लागि बजारसम्म पुर्याउन गत वर्षहरूमाभन्दा यो वर्ष अलि सहज हुने भएको छ। यो वर्ष १२ महिना नै बाटो सञ्चालन हुने देखे पछि व्यावसायिक तरकारी खेती गर्नेहरू बढेका हुन्।’
त्यसोत, सडक संरचना सुधार हुँदै गएपछि कैलाश गाउँपालिकामा ठूलो परिवर्तन देखिन थालेको छ। हेटौंडाबाट ४५ किलोमिटर दूरीमा रहेको यो विकट गाउँमा वर्षैभरि सडक नचलेका कारण कृषि उत्पादन बजारसम्म पुर्याउन कठिनाइ थियो। अहिले भने चुनिया–नामटार–कालिकाटार–भार्ता सडकखण्ड कालोपत्रेको अन्तिम चरणमा पुगेपछि किसानहरू उत्साहित छन्।
सडक सुचारु भएपछि गाँजा–अफिमजस्ता अवैध लागुऔषधका बाली त्यागेर स्थानीयहरू अन्नबाली र तरकारीखेतीतर्फ फर्किरहेका छन्, जसले उनीहरूलाई स्वावलम्बी बन्न सहयोग पुर्याइरहेको छ। बजार पहुँच बढेसँगै कृषि नै रोजगारी र आयको मुख्य आधार बन्दै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।-नेपालखबरबाट