कैलाश \ डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजनामा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । कैलाश गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले कैलाशको भुगोल, वातावरण र यहाँको वस्तुस्थिती हेरेर योजना निर्माण गर्नुपर्ने बताए । हिजोको अवस्था भन्दा अहिलेको अवस्था अलि फरक छ, उपभोक्ता समितिलाई परिचालन गरि वन क्षेत्रको काम गर्नुपर्छ, उनले भने । प्रत्यक्ष वन समूहका समितिलाई जोडेर योजना तर्जुमा गरिए अझ सहजता रहनेमा उनले जोड दिए ।
पालिकाले वन ऐन निर्माण गरिसकेको छ, पालिकाले आवश्यकता अनुरुप वन क्षेत्र, कृषि, उद्यमका कार्यक्रम योजनामा समेट्दै काम गरिने प्रतिवद्धता जनाए । गाउँपालिकाले डिभिजन वनसँगको सहकार्य र समन्वयमा योजनाहरु बनाई कार्यान्वयन गरिने उनले बताए ।
कार्यक्रममा वन कार्यालय प्रमुख थापाले आफ्नो कार्यक्षेत्रमा ८ वटा सव डिभिजन कार्यालय रहेको बताए । आफ्नो क्षेत्रभित्र सामूदायिक, धार्मिक, कवुलियत र निजिव वनहरु छन्, उहाँहरुसँग यसैगरी गोष्ठी सञ्चालन गरि योजना संकलन गरि आगामी दिनहरुमा योजना बनाउने गरेका छौं, उनले भने । वनमा चोरी शिकारी र वन्यजन्तु शिकारीहरु पनि बढ्दो अवस्था रहेको बताउँदै पालिकासँगको सहकार्यमा डिभिजन वन कार्यालय तत्पर रहेको बताए । दाउराको प्रयोग कमीले वन क्षेत्र अब काठको लागि उद्योग सँग मात्रै जोडिएको बताए ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय कैलाशका वन अधिकृत वीरबहादुर योन्जनले योजना तर्जुमाको उद्देश्यहरु, डिभिजनबाट सञ्चालित मुख्य कार्यक्रमहरु र आगामी आव २०८३\०८४ को लागि सम्भावित प्रस्तावित कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, योजना शाखा प्रमुख विक्रम बहादुर थिङ लगायत विभिन्न शाखाका प्रमुख, सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कैलाशमा ३ कवुलियत वन सहित २४ वटा सामूदायिक वन रहेको छ । गोष्ठीमा विभिन्न समूह बनाई वनसँग जोडिएका विभिन्न योजनाहरु तय गरिएको छ ।