मनहरी \ मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का आम जनता पार्टी (आजपा) का उम्मेदवार सूर्य राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेस उम्मेदवार बुद्ध लामालाई समर्थन गर्ने घोषणा गरेका छन् । मनहरी गाउँपालिका–६ मा आयोजित चुनावी सभामा राईलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममार्फत राईसहित विभिन्न दल परित्याग गरी ८६ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए । कांग्रेस प्रवेशपछि राईले देशमा विकास र स्थिरताका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे ।
“कांग्रेसले पछिल्लो समय अवलम्बन गरेको नीति र मार्गदर्शनले मात्रै देशलाई सही दिशामा लैजान सक्छ,” उनले भने, “त्यसैले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बुद्ध लामालाई समर्थन गरेको हुँ ।” कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले पुराना तथा नयाँ भनिएका दलहरूमा गम्भीर विचलन देखिएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू सहकारी ठगी, दोहोरो राहदानी र नागरिकता विवादमा मुछिएको दाबी गर्दै आलोचना गरे । “गरीबको पैसा मासिएकै कारण आज ठूला कुरा गर्नेहरू धरौटीमा निस्कनुपर्ने अवस्था आएको छ,” उनले भने । रास्वपाले क्युआर कोडमार्फत रकम संकलन गरी बाहिरबाट मान्छे ओसारेर कृत्रिम भीड देखाएको आरोपसमेत उनले लगाए । बानियाँले केपी शर्मा ओलीले नयाँ पुस्ताको भावना नबुझेको टिप्पणी गरे भने माओवादीमा लामो समय नेतृत्व परिवर्तन नभएको दाबी गरे ।
कांग्रेसले भने गगन थापा जस्ता युवालाई अगाडि सारेर नीति र नेतृत्वमा परिवर्तन गरिरहेको उनको भनाइ थियो । कांग्रेस मकवानपुर सभापति तथा उम्मेदवार बुद्ध लामाले पार्टी प्रवेशको लहरले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। “थुप्रै साथीहरू कांग्रेसमा प्रवेश गर्नुले कांग्रेस विजयी भइसकेको संकेत गर्दछ,” उनले भने, “कांग्रेस सबै पार्टीको महापार्टी र केन्द्रबिन्दु बनेको छ।” लामाले नि:शुल्क तथा सुलभ स्वास्थ्य सेवा, महिला-किसान-युवा लक्षित कार्यक्रम, वैदेशिक रोजगारी व्यवस्थापन, स्वदेशमै सीपमूलक तालिम र लघुवित्त समस्याको समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए । निर्वाचन नजिकिँदै गर्दा उनले कार्यकर्तालाई संयमित र अनुशासित रहन आग्रह गर्दै फागुन २१ गतेसम्म प्रत्येक टोल–बस्तीमा सक्रिय हुन निर्देशन दिए।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, पालिका सभापति प्रकाश बर्तौलालगायत स्थानीय नेताहरूको उपस्थिति थियो। यसैबीच, हालै रास्वपा परित्याग गरी कांग्रेसमा फर्किएका नेता भरत पराजुलीले कांग्रेसलाई सबै वर्ग र समुदायको साझा पार्टी बनाउनुपर्नेमा जोड दिए । “कांग्रेस केवल धनीमानी र जमिनदारहरूको मात्र पार्टी नबनोस्,” उनले भने, “श्रमजीवी, आर्थिक रूपमा कमजोर र पछाडि पारिएका वर्गको पनि नेतृत्व र अपनत्व महसुस हुनुपर्छ।” उनले पार्टीको वर्तमान कार्यशैलीमा सुधार आवश्यक रहेको औँल्याउँदै तल्लो तहका कार्यकर्ताको भावना बुझेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे।