काभ्रे \ नेपाली कांग्रेसले बाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गर्दै सुशासन, सेवा प्रवाह, सामाजिक न्याय, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर ३३ बुँदे संकल्प पारित गरेको छ ।
काभ्रेको धुलिखेलमा जेठ ४ र ५ गते सम्पन्न भेलाको आयोजना नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको हो ।
भेलाले संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै नागरिकमुखी, उत्तरदायी र जवाफदेही सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय सरकारबाट भइरहेका 'अलोकतान्त्रिक र अमर्यादित' गतिविधिप्रति चिन्ता व्यक्त गर्दै संविधानको मर्म, विधि, प्रक्रिया र नागरिकको आत्मसम्मानलाई केन्द्रमा राख्न आग्रह गरिएको छ ।
संकल्प-पत्रमा स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई थप सरल र प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी तथा विपन्न समुदायलाई घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउने उल्लेख छ । सबै स्थानीय तहले असार १० भित्र बजेट पेस गर्नुपर्ने, 'शून्य बेरुजु स्थानीय तह' अभियान सञ्चालन गर्ने तथा वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्ने निर्णय पनि गरिएको छ ।
स्थानीय उत्पादन, कृषि, उद्यम र युवारोजगारीलाई प्राथमिकतामा राख्दै उद्यम व्यवसायमैत्री कर प्रणाली लागू गर्ने, विदेशबाट फर्किएका युवाको सीप र पुँजीलाई स्थानीय विकाससँग जोड्ने तथा 'श्रमदेखि उद्यमसम्म' अभियान सञ्चालन गर्ने संकल्प गरिएको छ । महिलाका परम्परागत सीपलाई उद्यमसँग जोड्न 'उद्यमी आमा' जस्ता कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ ।