भेनेजुएलाको दन्त्यकथा

२२ माघ २०७५, मंगलवार ०९:४६

-मुराहरि पराजुली

त्यो ह्युगो साभेजको जादु चलेका बेला थियो । भेनेजुएलाका राष्ट्रपतिलाई कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा सुनेर आएका तत्कालीन एमालेका युवा नेता गोकर्ण विष्ट नयाँ बानेश्वरमा देखा परे । शाही शासनविरुद्ध सात दलको आन्दोलन जारी थियो । ‘भाषा त बुझिन्थेन तर बडी ल्याङग्वेज गजबको थियो,’ हाल मन्त्री रहेका विष्टले हामी केही युवालाई कुनामा उभ्याएर भनेका थिए, ‘रगत उमाल्ने किसिमको । साभेजलाई उनकी हजुरआमाले गरिबीमा हुर्काएकी थिइन्, पछि उनी तिनै गरिबहरूका नायक भएका थिए । संसारमै सबैभन्दा ठूलो परिमाणमा तेल छ भन्ने पुष्टि भएको भेनेजुयला अरू प्राकृतिक स्रोतमा पनि धनी छ । त्यस्तो मुलुकमा व्याप्त गरिबी र असमानतालाई साभेज नामेट पार्न चाहन्थे ।

सैन्य विद्रोहलगायतका सुरुआती राजनीतिक तिकडम असफल भए पनि १९९८ को चुनावमा उनी राष्ट्रपति निर्वाचित भए । साभेजको नियत के थियो हामी भन्न सक्दैनौं तर असल नियत राख्दाराख्दै शासकले गलत नीति अख्तियार गर्‍यो भने मुलुक कसरी मानवीय संकटमा पर्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भेनेजुयला । कुनै बेला ल्याटिन अमेरिकाकै सबैभन्दा धनी मुलुकमा अहिले मान्छे भोकभोकै मरिरहेका छन्, फोहरको डंगुरमा खानेकुरा खोजिरहेका छन्, शिशुहरूले पिउने दूध पाएका छैनन्, अस्पतालमा औषधि छैन, पैसा कागजको खोस्टो भएको छ, लुटपाट, चोरीडकैतीका घटना बढेका छन्, ३० लाख मान्छेले देश छोडेर छिमेकी मुलुकमा आश्रय लिइरहेका छन्, राजनीतिक संकट चुलिएको छ ।
राष्ट्रपति भएलगत्तै साभेजले बोलिभारियन आदर्शअनुरूपको आर्थिक कार्यक्रम सुरु गरे । आफूलाई गरिबका मसिहाका रूपमा प्रस्तुत गरेका उनले तेल निर्यातबाट प्राप्त आम्दानीलाई पुनस्वितरण गर्नु अस्वाभाविक थिएन । साभेजभन्दा अघिका नेताले कहिल्यै तेलबाट प्राप्त धन गरिबको हितमा लगाएका थिएनन् । तेलको आम्दानीबाट देशवासीलाई जे गर्न सकिन्थ्यो, ती सबै काम साभेजले गरेका थिए । देशभित्र मात्र होइन, वामपन्थी छिमेकी बोलिभिया, क्युबालगायत मुलुकमा समेत लाभ बाँडेका थिए ।

साभेज पहिलोपटक राष्ट्रपति चुनिँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२ देखि १६ अमेरिकी डलर थियो । दोस्रो पटक चुनिँदा सय डलरभन्दा माथि पुग्यो । साभेजको हातमा शक्ति र पैसा दुवै आयो । उनले निर्धक्क ‘नयाँ सामाजिक नीति’ कार्यान्वयनमा ल्याउन सक्ने भए । ‘नयाँ किसिमको ढाँचामा आर्थिक विकास गर्ने अवसर हामीले पाएका छौं,’ उनी भन्ने गर्थे । सन् २००४ मा क्युबा पुगेर फिडेल क्यास्ट्रोबाट गुरुमन्त्र लिई फर्केका साभेजले खाद्यान्न, शिक्षा, स्वास्थ्यमा बृहत् सामाजिक सुधार कार्यक्रम ल्याए । त्यसलाई तेल निर्यातको पैसाले थेगेको थियो । देशको कुल निर्यातमा कुनै बेला तेलको हिस्सा ९८ प्रतिशत हुन्थ्यो । त्यो पैसाले बेरोजगारलाई रोजगारी तालिम, देशव्यापी रूपमा नागरिकता वितरण, नयाँ नीतिबारे जानकारी दिलाउन देशभर स्वयंसेवक खटाउने गरिन्थ्यो । नागरिकलाई न्यूनतम आधारभूत सामाजिक सेवा उपलब्ध गराउने जिम्मा सरकारले लिएको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको बढ्दो भाउले साभेजको मनोबललाई झनै उचो बनायो । उनले सकेसम्म धेरै ऋण लिएर सामाजिक कार्यक्रममा खर्च गरे । तेलमाथिको निर्भरता घटाउने र अर्थतन्त्रलाई विविधिकरण गर्ने नाममा भूमिसुधार कार्यक्रम ल्याइयो, सिमेन्ट, दूरसञ्चार, विद्युत् कम्पनीलगायत ठूलाठूला उद्योग राष्ट्रियकरण गरिए । विदेशी बैंक किनियो ।

‘कुरा नमिल्ने’ विदेशी लगानीकर्तालाई धपाइयो । मुलुकलाई लगभग निजी व्यवसायशून्य बनाइयो । यस्ता कार्यक्रमको विरोध गर्नेको दमन गरियो, सम्पत्ति खोसियो । तेलमाथिको निर्भरता घटाउने भनिए पनि त्यसलाई झन् अर्थतन्त्रको केन्द्रमा ल्याइयो । जानीनजानी अर्थतन्त्रलाई तेलको धरापमा पारियो ।अर्थतन्त्रलाई केन्द्रीकृत गर्दाका दुष्परिणामबारे साभेजलाई मतलब थिएन । तेल बेचेकै पैसाले सबथोक किन्न सकिन्छ भन्नेमा ढुक्क थिए । खाद्यान्न, औषधि, लत्ताकपडा, मोटरगाडी सबै आयात गरिन्थ्यो । निजी व्यवसाय नहुँदा आन्तरिक उत्पादन प्रणाली ध्वस्त भइसकेको थियो । सबथोक राज्यको नियन्त्रणमा ल्याउने बोलिभारियन रोमाञ्चबाहेक साभेजसँग कुनै आर्थिक मोडल थिएन । अन्तर्राष्ट्रिय बजारमा चलेको तेलको मूल्यले उनको रोमाञ्चलाई टिकाइरहेको थियो ।

समाजवादी प्रयोगका नाममा समानान्तर संस्थाहरू खडा गरिएका थिए । भइरहेका मन्त्रालय, विभाग र कर्मचारीतन्त्र लाई सुधार्नुको सट्टा गरिबी निवारण, सामाजिक कल्याण, सामाजिक न्याय कायम गर्ने गरी ‘मिसियोनेस’संयन्त्र बनाइएको थियो । यो संयन्त्रले खाद्यान्न, आवास, शिक्षा, स्वास्थ्य, वातावरण, पहिचान, ग्रामीण विकास, नागरिक मिलिसिया, भूमिसुधार, संस्कृति, सामाजिक सुधार सबै क्षेत्रमा काम गर्थ्यो । यसले राज्यको जिम्मेवारी र खर्चमा दोहोरोपन ल्यायो । तेलबाट आएजति पैसा सबै यस्तै काममा खन्याइयो । भविष्यका लागि कुनै बचत गरिएन । विदेशी ऋण लिएर समेत यस्ता कार्यक्रम विस्तार गरिएका थिए । एउटा दुस्खद संयोग, सन् २०१२ मा साभेज रोगले थलिए, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लाग्न थाल्यो । सुरुमा साभेजले आफ्नो व्यक्तिगत र अर्थतन्त्रको स्वास्थ्य खस्किएको अस्वीकार गरे । विदेशीले थप ऋण दिन बन्द गरिसकेका थिए, साभेजलाई क्यान्सर भएको थियो । लक्षण ठीक छैन भन्ने संकेत पाएका शक्तिशाली मान्छेहरू पहिले आफूलाई जोगाउने गरी धन सञ्चय गर्न लाग्छन् । भ्रष्टाचार नियन्त्रण गर्छु भनेर सत्तामा आएका साभेज कमजोर हुँदै जाँदा उनका आसेपासे त्यसै गरी जुर्मुराए । बोलिभारियन सपनालाई भ्रष्टाचारले अपहरण गर्‍यो ।

सन् २०१४ मा आउँदा स्थिति झन् खराब भयो । तेलको भाउ प्रतिब्यारेल ९६ र त्यसपछिको वर्ष ५० डलरमा झर्‍यो । सरकार ठूलो विदेशी ऋणको भारले थिचियो । खाद्यान्न, औषधि आयात गर्न पर्याप्त डलर थिएन । दिनप्रतिदिन खाद्यान्न, औषधि अभाव चर्किंदै गयो । भेनेजुयलाले ऋण भुक्तानीलाई सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिरहेको थियो । संयुक्त राज्य अमेरिकाले उल्टो नाकाबन्दी लगाइदियो । सन् २०१५ र त्यसपछिका वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लाग्यो । भेनेजुयलाले आर्थिक गतिविधिसम्बन्धी आधिकारिक तथ्यांक २०१६ देखि सार्वजनिक गरेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको केन्द्रीय बैंकबाट प्राप्त तथ्यांकका आधारमा २०१७ मा अर्थतन्त्र १६।६ प्रतिशतले खुम्चिएको अनुमान गरेको छ ।

आर्थिक वृद्धि दर २०१८ थप १६ प्रतिशत ऋणात्मक हुने अनुमान छ । सन २०१९ मा मुद्रास्फीति दर एक करोड प्रतिशत हुने कोषको प्रक्षेपण छ । यस्तो मुद्रास्फीति सन् १९२३ मा जर्मनी र सन् २००० मा जिम्बाबेले बेहोरेको थियो । यो चरम आर्थिक अव्यवस्थाले निम्त्याएको मानवीय संकटबारे हामी सबै जानकार छौं । यो दुस्खद अवस्थाको पूर्वानुमान गर्ने थोरै थिए । यस प्रसंगमा अमेरिकी साम्राज्यवादका विरोधीहरूका आदर्श प्राध्यापक नोम चोम्स्कीको भनाइ चाखलाग्दो छ । ‘भेनेजुयलाले अर्को सामाजिक आर्थिक मोडेल निर्माण गर्ने क्रममा जुन रूपान्तरण गरेको छ, यो परियोजनालाई सफलतापूर्वक अघि बढाइयो भने यसले विश्वव्यापी प्रभाव पार्नेछ,’ काराकासमा साभेजसँगको टेलिभिजन संवादमा १० वर्षअघि चोम्स्कीले भनेका थिए । चोम्स्की यति उत्साही थिए कि उनले अमेरिका फर्किएर ‘दक्षिणी गोलाद्र्धमा नयाँ सुधारिएको संसारको रचना’ भएको बताएका थिए । बेलायती लेबर पार्टीका नेता जेरेमी कोर्बिन, अमेरिकी अभिनेता सिन पेन, नोबेल अर्थशास्त्री जोसेफ स्टिगलिजलागयत साभेजको जादुको प्रभावमा थिए । त्यो जादु लामो समय चलेन । उनै चोम्स्कीले सन् २०१७ मा ‘मैले साभेजको राज्य पुँजीवादी सरकारलाई कहिल्यै समाजवादी भनेको थिइनँ, त्यसको संकेतसम्म गरेको थिइनँ । त्यो त समाजवादभन्दा निकै टाढाको कुरा थियो । त्यहाँ निजी पुँजीवाद कायमै छ’ भनेका थिए ।

‘साभेज–अर्थतन्त्र’ अनौठो थियो । त्यहाँ वस्तु तथा सेवा उत्पादन लागतको पर्वाह गरिन्थेन, मात्र समाजवादी सपना पूरा भयोरभएन हेरिन्थ्यो । शासन तथा जीवनको उत्तराद्र्धतिर साभेज दुई चार सल्लाहकार भेला पार्थे अनि बोलिभार र अमेरिकी डलरको विनिमय दर तय गर्थे । उनले मुखको भरमा तोकेको विनिमय दरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार हुन्थ्यो । फरकफरक प्रयोजनका लागि फरक विनिमय दर तोकिन्थ्यो । फरकफरक मान्छेले फरक परिमाणमा डलर सटही सुविधा पाउँथे, कत्ति पनि नपाउने धेरै थिए । साभेज र उनका उत्तराधिकारी मधुरो सञ्चालित अर्थतन्त्रका यस्ता थुप्रै किस्सा छन् । अध्येताहरूका लागि भेनेजुयलाको आर्थिक प्रणाली एउटा दन्त्यकथाजस्तो छ । डेढ दशकमा यो मुलुकले समृद्धि र चरम गरिबी भोगेको छ । सहरबाट धन कमाई ल्याएको एउटा गाउँले केटो दुई चार दिन रमाइलो गरेर फेरि गरिबीमै जाकिएको जस्तो भएको छ भेनेजुयालाको अवस्था । हाम्रा युवा नेता विष्ट मात्र होइन, विश्वभरका राजनीतिज्ञ, प्राज्ञ, नीतिनिर्मातालाई छक्क पार्ने बोलिभारियन समाजवाद क्षणिक साबित भयो तापनि समाजवादीहरू यसलाई स्विकार्ने मुडमा छैनन् । उनीहरूले यो संकटमा साम्राज्यवादी षड्यन्त्र देखेका छन् । समाजवादका नाममा भएका कुनै पनि प्रयोग असफल हुँदैनन् भन्ने ढिपी कसिरहेकै छन् ।
(कान्तिपुरबाट साभार)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*