खाद्य स्वच्छताबारे प्रादेशिक मन्त्रालय र स्थानिय तहसंग छलफल

३० बैशाख २०७६, सोमबार १८:४७

सिधाखबर \ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रदेश ३ को राजधानी हेटौंडामा प्रादेशिक मन्त्रालय र स्थानिय तहसंग खाद्य स्वच्छता तथा गुण नियन्त्रण एंव खाद्य प्रविधि तथा पोषण विषयक अन्तरक्रिया गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

गुण नियन्त्रण विभागको आयोजनामा भएको कार्यक्रममा विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले संघ, प्रदेश र स्थानिय तहबीचको समन्वयको महत्व, संविधानमा भएको व्यवस्था र नेपाल सरकारबाट हाल सम्म गरिएको तयारी सम्बन्धी विद्यमान अवस्था र आगामी कार्यदिशाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरि कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमबारे प्रस्तुती दिनु भएको थियो । स्थानिय खाद्य गुण नियन्त्रण र खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमहरुको महत्व र आगामी सोच सम्बन्धी कार्यपत्र हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखामा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका वरिष्ठ पशु चिकित्सक डा. चेत नारायण खरेलले खाद्य स्वच्छता र पशु सेवा क्षेत्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफल कार्यक्रममा हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने,उपभोक्ता मञ्च नेपालका अध्यक्ष कुमार पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष नन्द रत्न स्थापित, जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत विनयकुमार श्रीवास्तव, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल, हेटौंडाका खाद्य अनुसन्धान अधिकृत आकाश काफ्ले, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*