कथा बाँच्ने ब्यर्थ प्रयास

२ असार २०७६, सोमबार १८:०८

– सुपेन्द्र बस्नेत \युएस

सिधाखबर \ एकादेशमा एक चर्चित राजा थिए । राजश्री जीवनका कारण दुःख र पिडाको खासै अनुभब थिएन राजालाई । प्रजालाई जे जति अभाब र दुख पिडा भए पनि राजाको जिवन भने केही अपबाद बाहेक सुःखी र बिलासी नै हुन्छ । यस्तै जिवनशैली अपनाई रहेका राजाले
एक मध्यरातमा सुन , हिरा,मोती जडित अत्यन्तै बहुमुल्य पलङमा सुतिरहेका बेला एउटा अत्यन्तै डरलाग्दो सपना देखे । सपनामा कालले पछाडिबाट आफ्नो काँधमा हात राख्दै म लैजाने सूचना दिन आएको हो । भोली घाम डुबेपछि साँझ पख लिन आउछु । ठिक समयमा ठिक ठाँऊमा बस्नु भनेको सपना देखेछन् ।

यस्तो सपना देखेर राजा झस्किदै बिउझिएर अतालिदै हारगुहार गर्न थाले । राजाले आफुले देखेको सपनाको खास संन्देश के हो भन्ने बुझ्न तत्काल उपलब्द माहान महान ज्योतिष, पण्डित ,बिद्वानहरुको सभा डाके अनि आफ्नो सपनाको मुख्य संदेश के हो र यसको संकटमोचन उपाय के हुनसक्छ भन्दै छिटो पत्तालगाई सुझाउन आदेश दिए । उपस्थित ज्योतिष, पण्डित,बिद्वानहरु पनि राजाको आदेश अनुसार सपनाको बारेमा आ आफ्नो विधा अनुसारको ज्ञान अनुसार अर्थ्याउन र समाधानको उपाय सुझाउन भन्दै जुटे। सबैले आ आफ्नो विधा अनुसार राय ब्यक्त गर्दै गए । सबैले आआफ्नो रायको अडान नछोडेका कारण मतक्यता हुन सकेन र राजालाई यसै गर्ने भनि ठोस उपाय सुझाउन सकेनन् । समय घर्किदै गयो । रात बित्दै गयो ।

सुर्य उदाएर उज्यालो हुदै गयो तर उनीहरु निचोडमा अझै पुग्न सकेनन् । बरु उल्टै एक आपसमा आआफ्नो विधाको कुरा सही हो भन्दै अरुको बिचारको निन्दा सहित आरोप प्रत्यारोप गर्न थाले। उता राजाको छटपटाहट बढ्दै गइरहेको थियो । के गर्ने के नगर्ने दुबिधाका कारण राजामा अन्योलता झन झन बढ्दै गयो ।राजाको यस्तो दुर्दशा देखेर एक द्वारपालले राजालाई भने माहाराज अब यिनिहरुको भर पर्नु हुदैन । सपनामा छाँयाले दिएको सूचना अनुसार दरबारमा बसिरहनु उचित छैन । समय सिमा नजिकिदै गरेकाले सक्दो छिटो यो दरबारबाट टाँढा भाग्नु उचित हुन्छ जहाँ मृत्युले भेट्न नसकोस् भन्दै सुझाएछन् । सपनाका कारण बिछिप्त मानशिकताले ग्रस्त राजाले थप केही सोच्न सकेनन् र द्वारपालको सुझाब सिरोधार्य गर्दै बिलम्ब नगरी दरबारमा रहेको सबैभन्दा तेज घोडा झिकाई चडेर दरबारबाट बाहिरिएछन् । होस् हवास उडेका राजाको दिमागमा केबल दरबारबाट सक्दो टाढा पुग्ने र कालबाट बच्ने मात्र सोच थियो । त्यसैले उनले जिवन संगिनी,छोरा छोरी ,नजिकका स्टमित्र कसैसंग पनि बिदा माग्न भ्याएनन् ।

आफ्नो अगाडि काल देखेपछि जो कोहीलाई अरु कसको याद आउछ र । दिन ढल्दै गयो ,राजा घोडामा सक्दो दरबारबाट टाढा भाग्दै गए । सारा कुरा बिर्सिएर केबल भगवानको नाम जप्दै संकटमोचन गरेर मृत्युबाट बचाउन पुकार मात्र गरिरहे ।न भोक न प्यास ,न निन्द्रा,न थकान,केबल मृत्युको मुखबाट बच्ने अन्ति संघर्ष । घोडाले पनि नुनको सोझो गर्दै राजाको आदेश अनुसार राजालाई बोकेर सक्दो कुदि रह्यो र राजालाई बाँच्ने आशा जगाउदै गयो । रंगिन संसारको स्वाद लिएका जो कोहीलाई बाँच्ने रहर हुने नै भयो । राजा पनि बाँच्ने रहरबाट अछुतो रहन सकेनन् । दिन ढल्केर साँझमा परिणत हुदै थियो ।

कालले दिएको समय सिमा नजिकिदै थियो । राजा दरबारबाट सयौ कोष टाढा पुगिसकेका थिए । राजालाई अब बाँचियो भन्ने लाग्दै थियो । दरबारबाट कयौ कोस टाढा पुगिएका कारण राजालाई अब बाँचियो भन्ने लाग्यो । जादै गर्दा राजाले बाटोको छेऊमै एउटा चौतारो देखे । दरबारबाट निकै टाढा पुगिएका कारण बाँचियो भन्ने लागेर त्यो चौतारोमा एक छिन आराम गर्ने सोच गर्दै सुस्केरा हालेर घोडाबाट ओर्लिए र घोडा नजिकै बाँध्न खोज्दै गर्दा फेरी उही कालको हातको छाँयाले सपनाकै झै गरी पछाडिबाट काँधमा हात राख्दै भन्यो धन्यबाद् राजा ईमान्दार रहेछौ । निकै संघर्ष र जोर जुलुम गरेर मैले भने झै दरबारबाट यति टाँढासम्म ठिक समयमा ठिक ठाऊँमा आईपुग्यौ । यस्तो सुनेपछि खुशीको कान्ति छाउदै गरेको राजाको मुहारमा एकाएक कालो बादल मडारियो र हार खादै काललाई राजाले रूदै भने के यो सत्य नै हो । यतिन्जेल मैले बाँच्नका लागि गरेको अथक प्रयास ब्यर्थ नै भयो त , कालले जवाफ दियो यो सत प्रतिशत सत्य नै हो । सृष्टिको नियम अनुसार मलाई प्रदान गरिएको जिम्मेवारी मैले कुनै पनि हालतमा निभाउनै पर्दछ ।

यो सृष्टिको नियम बिपरित जो कोही कुनै पनि हालतमा जान सक्दैन । जे हुनु पर्दछ त्यो भए रै छाड्दछ । कसैले रोकेर रोक्न सक्दैन । टारेर टार्न सक्दैन । यो सुनेपछि राजा नुन खाएको कुखुरा झै लल्याक लुलुक भएर गले । कालले राजालाई सम्झाउदै भने यो संसारमा यमलोकको नियम अनुसार धर्ति छोड्न तोकिएको समय र स्थानमा पुग्न आजसम्म कोही पनि चुकेका छैनन् । हेर यो घोडाले तोकिएको समयमा र तोकिएको स्थानमा इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्दै पुर्याएरै छाडेको छ ।

जो तिम्रो घोडाले पनि आज आफ्नो जिम्मेवारी पुरा गर्यो। त्यसैले तिम्रो घोडालाई पनि धन्यवाद् । यति भनेपछि राजाको बोल्ती बन्द भयो र आफुलाई काललाई सुम्पी दिए । राजाको मिति सकिएकाले कालले राजालाई लिएर आफ्नो लोक तिर लागे । कथा सकियो । कथाले के संन्देश दिन खोजेको हो भने स्वतन्त्र रुपले बिचार गर्ने, चिन्तन मनन् गर्ने, सोच्ने,बहस गर्ने,बिश्लेषण गर्ने र निश्कर्ष निकाल्ने स्वतन्त्रताको हक सुरक्षित गर्दै अहिलेलाई बिदा लिन्छु। सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठ जाला भन्ने बेला खुरु खुरु मुखमा आइजाला ।

प्रस्तोता  सुपेन्द्र बस्नेत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*