सभापति देउवा, नेता पौडेल सहित कांग्रेसका नेता हेटौंडा आउने

हेटौंडामा दुइदिने प्रशिक्षण कार्यक्रम
२५ कार्तिक २०७६, सोमबार १३:०५

सिधाखबर / पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार हेटौँडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने प्रशिक्षण कार्यक्रमका लागि देउवा हेटौँडा आउने भएका हुन् ।

देउवासंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरु समेत हेटौँडा आउने भएका छन् । हेटौँडामा दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा प्रदेश ३ अन्तरगतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहने सोमबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय जना प्रतिनिधिको सहभागिता रहने जनाईएको छ । सहभागीलाई प्रतिष्ठानका प्रमुख नीधि, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजिकरण गर्ने जनाईएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, पूर्व उपसभापति अशोक शाक्य, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदीप कोइराला लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*