अख्तियारले नेकपा नेतालाई जोगाएको भन्दै कांग्रेस मकवानपुरका भातृ संस्थाहरुको प्रदर्शन

२६ माघ २०७६, आईतवार १८:३६

हेटौंडा \ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेकपाका नेतालाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संयोजनमा भातृ संस्थाहरुले आईतबार बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरेको छ ।

नेपाल तरुण दलको संयोजनमा कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघलगायतले संयुक्तरुपमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन राप्ती पुलमा गएर २१ मिनेट पूर्वपश्चिम राजमार्ग अवरोध गर्दै कोणसभामा परिणत भएको थियो ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको छ भने सोही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललगायतलाई कारवाहीको दायरामा ल्याएको छैन ।

घटनाको विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ । कांग्रेसले बिहीबारयता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ । आईतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि कांग्रेस अवरोधका कारण सुरु हुन सकेन ।
विरोध कार्यक्रममा पार्टीका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाहरुको पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*