जताततै पार्किङ गरिरहेकोले हेटौँडाको सुन्दरतामा आँच पुग्यो

पार्किङ विषय आफैमा गहन र चुनौति भएको :उपमेयर लामा
१ फाल्गुन २०७६, बिहीबार १६:४३

सिधाखबर \ रेडियो थाहा सञ्चार ९९.६ एफएमले १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आजबाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रमा हेटौँडाका विभिन्न सडक तथा स्थानमा विभिन्न क्षेत्रबाट आवातजावत हुने सवारी साधनलाई पार्किङ गरिरहेकोले हेटौँडाको सुन्दरतामा आँच पुगेको वक्ताहरुले बताएका छन् ।

उनीहरुले बजार क्षेत्रमा पार्किङ गरिएको सवारीलाई बजार क्षेत्रभन्दा पर खुल्ला स्थानमा पार्किङ गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएमले १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आजबाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले तीन पांग्रे सवारीले गर्दा बजार क्षेत्रको पार्किङ अस्तव्यस्त भएका बताए ।

बसपार्क क्षेत्रभन्दा बाहिर पार्किङ गरिएका सवारीहरुलाई चारै क्षेत्रबाट बजार भित्रने स्थानमा निश्चित पार्किङ क्षेत्र तोकिनु पर्नेमा जोड दिएका छन् । उनीहरुले तीन पांग्रे सवारी साधनलाई क्रस गर्ने २÷३ ठाउँमा मात्रै दिएर बजार क्षेत्रमा प्रवेश गर्न नदिने हो भने हेटौडाको सुन्दरतालाई कुरुप हुनबाट जोगाउन सकिने बताएका छन् । उनीहरुले ठुला सवारीलाई उत्तरतर्फबाट आउनेलाई चौकीटोलबाट, पश्चिमबाट आउनेलाई राप्ती पुलबाट व्यवस्थापन गर्न सकिएमा बजारमा चाप नहुने बताएका छन् । उनीहरुले ढुङ्गा गिट्टी बोक्ने सवारीलाई साँझदेखि रातीसम्मको निश्चित समय तोकिनु पर्ने, सामान ढुवानीका साधनहरुलाई लोड अनलोड गर्न साँझ र बिहानको समय तोकिनु पर्नेमा जोड दिए ।

हेटौँडाको सिमा चोक, बुद्ध चोकमा रहेको म्याजिक स्टेशनलाई अन्तै सार्न सकिएको खण्डमा पनि बजारको सुन्दरता जोगाउन सकिने उनीहरुले बताए । पार्किङ व्यवस्थापनको बारेमा छलफलले मात्रै सार्थकता नपाउनेमा पनि उनीहरुले बताए । सम्बन्धित पक्षले कडाइका साथ कार्यान्वयन गर्न सकेमा मात्रै समस्या हल हुने उनीहरुले बताए । नगरपालिका, यातायात व्यवसायी संघ, स्थानिय तह, यातायात व्यवस्था कार्यालय, व्यवसायी, सवारी चालक सबै पक्ष जिम्मेवार हुन सकेमा पनि यो समस्या हल हुने बताए । हाइवेमा पार्किङ गर्न नगर्ने भनि निर्णय गरे, भित्रि सिंगल सडकमा चार चक्के सवारी चल्नमा रोक लगाउन सकेमा पनि पार्किङ व्यवस्थापन गर्न सकिने उनीहरुले बताए ।

सडकमा सवारी बढ्यो तर सडक बढ्न सकेन, त्यसले गर्दा पनि हेटौँडामा पार्किङ व्यवस्थापन हुन नसकिरहेको उनीहरुले औल्याए । हरेक रोडमा एक साइड मात्रै पार्किङ गर्न सक्यो भने पनि सवारी चाप नियन्त्रण गर्न सकिने उल्लेख गरेका छन् । वक्ताहरुको सम्बोधन पछि जिल्ला ट्राफिक प्रमुख हरिविष्ण ढकालले प्रहरीले मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने बताए । सर्वसाधारणले पनि विना वर्दीको प्रहरीको भुमिका निभाउन सकेको खण्डमा त्यो सम्भव हुने उहाँले बताए । उनले ट्राफिक प्रहरीसंग उचित स्रोतसाधन नहुँदा पनि सवारी आवागमन व्यवस्थित हुन नसकेको स्वीकार्नु भएको छ ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एंव हेटौँडा उपमहानगरपालिका उपमेयर मिनाकुमारी लामाले यो विषय आफैमा गहन र चुनौति भएको बताइन्, । हेटौँडालाई व्यवस्थित गर्नका लागि नगरपालिकाले पनि निर्णय गरिसकेको बताउनु हुँदै उहाँले विकास निर्माणमा समय लाग्ने बताइन्, । हेटौँडाको सौन्दर्य बढाउन नगरपालिकाले अझै थप योजना बनाईरहेको उनले बताइन्, । नीजि सवारीलाई पार्किङ गर्नका लागि आगामी वर्षमा प्रत्येक घरले निर्माणका क्रममा पार्किङका लागि अन्डरग्राउण्ड बनाउनै पर्ने मापदण्ड निर्माण गर्न लागेको जानकारी दिनुभएको छ । उहाँले सबै पक्षलाई मिलाएर अगाडी बढ्ने र वन विज्ञान अध्ययन संस्थानको अगाडीको भागलाई पार्किङकै लागि ठाउँ खाली गर्दै गरेको जानकारी दिनुभएको छ ।

कार्यक्रमको समापन गर्नु हुँदै रेडियोका सञ्चालक अरुणराज सुमार्गीले बजारलाई व्यवस्थित गर्न हाम्रो प्रतिवद्धता र व्यवहारलाई परिवर्तन गर्न जरुरी रहेको बताए । व्यक्तिमा आडम्बर र देखावटी प्रवृतिले गर्दा बजार व्यवस्थापनमा समस्या रहेको उहाँले बताउनु भयो । उहाँले जो शक्तिमा छ , त्यो पक्षले उचित ध्यान दिन नसकेकोले पनि समस्या भईरहेको बताए । समयको आवश्यकता अनुसार चल्न नसक्नु पनि थप समस्या भएको उहाँले बताए । हेटौँडा प्रदेशको राजधानी भएसंगै सवारी चाप बढ्यो तर ट्राफिक दरबन्दी नबढ्नुले पनि समस्या पैदा भएको उहाँले बताए ।

कार्यक्रममा १० नम्बर वडाका अध्यक्ष कितावसिं लामा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाइ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा फर्निचर व्यवसायी संघका केन्द्रिय अध्यक्ष रामप्रसाद न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गुप्ता, खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइ, हेटौँडा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, कपडा व्यवसायी संघका अध्यक्ष तेज प्रसाद अधिकारी, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, माछामासु व्यवसायी संघका महासचिव नारायण राजथला, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रेडियोका सञ्चालक अंकिता सुमार्गी, अनिता सुवेदी सुमार्गी, हेटोँडाका विभिन्न व्यवसायी, पेशाकर्मी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*