संविधान जोगाउनको लागि भएपनि चुनावी मैदानमा जानुपर्ने : उपनेता भडेल

सिधाखबर \ प्रधानमन्त्री केपी शर्माले संविधान कुल्चेर संविधान विपरित संसद विघटन गरेको विरुद्ध नेपाली कांग्रेसको चरणबद्ध विरोध कार्यक्रम अन्तरगत आज देशभर स्थानिय तहका वडा वडामा विरोध कार्यक्रम गरिएको छ ।मकवानपुरमा पनि नेपाली कांग्रेस १०२ वटै वडामा विरोध कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिकाको ८ वटै वटामा ओलीले चालेका कदमको विरोध गर्दै विरोध कार्यक्रम गरिएको छ ।
वडा नम्बर ८ बुढीचौरको कायोजना गरिएको विरोध कार्यक्रममा बोल्दै बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णलाल भडेलले ओली सरकारले देशलाई लथालिङ्ग बनाए र आफु अधिनायकवाद तर्फ उन्मुख भएको बताए । उनले यो सरकार अनैतिक सरकार हो,वृद्धाभत्ताको नाटक मञ्चन गरी बहुमत पाएको सरकारले संविधान विपरित कदम चालिएकोले हामीले देशभर विरोध कार्यक्रम गर्नुपरेको बताए । ५ वर्ष हामी प्रतिपक्षमा रहने गरि देश चलाउन दिएको तर आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसक्ने कम्युनिष्टले अब कसरी देश चलाउन सक्ला भन्ने प्रश्न उठेको बताए ।
चुनावमा नेकपा एक भयो कांग्रेसले हार व्यहोर्नुपर्यो तर कांग्रेसले हारे पनि देशले र जनताले जित्नुपर्छ भन्दै उप नेता भडेलले संविधान जोगाउनको लागि भएपनि चुनावी मैदानमा जानुपर्ने अवस्था आएको बताए । देश र गाउँ कांग्रेसले बनाउने हो कम्युनिष्टले बनाउने होइन भन्दै कांग्रेसमय गाउँपालिका र सिंगो मकवानपुर बनाउन सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा नारायण सिं स्याङ्तानको नेतृत्वमा ४१ जना नेकपा त्यागी कांग्रेसमा प्रवेश गरेका थिए । क्षेत्र नम्बर १ का संघीय सचिव सुवात सिं थिङ, गाउँपालिकाका पार्टी सभापति राजवीर मोक्तान, निर्वाचित वडा अध्यक्ष कुमार घिसिङ, गाउँपालिकाका तरुण अध्यक्ष सानुकान्छा थिङ लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम वडा सभापति बेदनाथ न्यौपानेको सभापतित्वमा भएको थियो ।
मकवानपुरगढीको वडा नम्बर रानीशेरा १ मा पार्टीका जिल्ला सदस्य दोर्जे लामा स्याङतान, वडा ६ का वडा अध्यक्ष प्रत्यासी कृष्ण प्रसाद बजगाई, निर्वाचित वडा अध्यक्ष आइतसिं लो, वडा सदस्य गणेशमान गोले, कांग्रेस गाउँपालिका सदस्य रा मभोम्जन लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो राप्रपाका पुराना नेता सुन बहादुर न्यासुर, श्यामबहादुर वाईवा, नेकपाका आस्मान वाईवा सहित ५७ जना कांग्रेसमा प्रवेश गरेका छन् । विरोध कार्यक्रम वडा सभापति पूर्ण सिं गोलेको सभापतित्वमा भएको थियो ।
यसैगरी वडा नम्बर २ शिखरकटेरीमा जिल्ला सदस्य सुर्य बहादुर रुम्बा, निर्वाचित वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा सदस्य लगायतले ओली विरुद्ध आफ्नो भनाइ राखेका थिए । विरोध कार्यक्रम वडा सभापति विष्णु प्रसाद धमलाको सभापतित्वमा भएको थियो । त्यस्तै, मकवानपुरगढी वडा नम्बर ३ मा विरोध कार्यक्रममा प्रदेश सभा सदस्यद्धय न्युछ्येनारायण श्रेष्ठ, कल्पना नेपाली, पार्टीको जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, शिव प्रसाद चौलागाई लगायतले सम्बोधन गरेका थिए । विरोध कार्यक्रम वडा सभापति विजय लामा थोकरको सभापतित्वमा भएको थियो ।
वडा नम्बर ४ मनकामनामा भने क्षेत्रीय सदस्य विष्णु प्रसाद न्यौपाने, गाउँपालिकाका पार्टी सचिव रामशरण धितालले सम्बोधन गरेका थिए । विरोध कार्यक्रम वडा सभापति कृष्ण बहादुर खड्काको सभापतित्वमा भएको थियो ।
त्यस्तै वडा नम्बर ५ धादिङमा मकवानपुरका संघीय क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाले सम्बोधन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका सचिव रामशरण धिताल र साविक उपसभापति थलनाथ घिमिरेले आफ्नो भनाइ राखेका थिए । वडा सभापति दीर्घ बहादुर थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।
वडा नम्बर ६ डुम्रेकुनामा भने पुर्व जिल्ला सदस्यद्धय बलराम घिमिरे र ईन्द्र बहादुर गोले, उपाध्यक्षका प्रत्यासी मन्दिरा केसीले ओलीको कदमको विरोधमा आफ्नो भनाइ राखेका थिए । विरोध कार्यक्रम वडा सभापति केदारनाथ चौलागाई सभापतित्वमा भएको थियो ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ७ सुकौरामा पार्टीका संगठन विभाग सदस्य गोपाल गौतम, नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार गोले वडा सदस्य प्रतिमान रुम्बा लगायतले आफ्ना भनाइ राखेका थिए । विरोध कार्यक्रम वडा सभापति सुनराज स्याङ्तानको सभापतित्वमा भएको थियो । कार्यक्रममा ४८ सालदेखि कम्युनिष्ट रहेका पूर्ण बहादुर बल, पासाङ लामा र माओवादीबाट प्रत्यासी वडा सदस्य मान बहादुर मोक्तान सहित २० जना प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसले यस अघि जिल्लागत, क्षेत्रगत र स्थानिय तहगत ओली सरकारको विरोधमा सडकमा विरोध प्रदर्शन गरिसकेको छ । चरणवद्ध विरोध कार्यक्रम अन्तरगत आज जिल्लाभरि १० स्थानियतह हेटौंडा उपमहानर, थाहानगर र ८ वटा गाउँपालिकाका १०२ वटा वडामा वडागत कार्यक्रम भव्य सम्पन्न गरिएको जिल्ला पार्टी प्रवक्ता प्रदिप कोइरालाले बताए ।