• २०७७ चैत्र २९, आइतबार
  • मौनता भङ्ग गर्ने कविता सङ्ग्रह “चुल्ठो”

    २१ फाल्गुन २०७७, शुक्रबार ०८:५४

    मौनता भङ्ग गर्ने कविता सङ्ग्रह ‘चुल्ठो’
    जिन्दगीको परीक्षार्थीलाई
    मूल ग्रन्थ बेच्दैन
    सन्दर्भ पुस्तक पनि बेच्दैन
    केवल गेस पेपर बेच्छ
    आजको बजार ।

    विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिता शास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा बिम्ब र प्रतीकको अत्याधिक प्रयोग गरेर क्लिष्ट शैलीमा नभइ सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता सङ्ग्रह हो ।

    सङ्ग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकहरुको असहिष्णु व्यवहारका भोगाइहरुको कटाक्ष कवितामार्फत उजागर गरिएको छ । कवि सरस्वती प्रतीक्षा चुल्ठो कविता सङ्ग्रहका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको बताउनुहुन्छ ।

    ‘चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन्, उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ’, कवि प्रतीक्षाले भन्नुभयो,’चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको छ, नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा छ ।’

    चुल्ठोमाथि साहित्यकार सुमिनाको धारणा पनि उस्तै छ । उहाँकाअनुसार समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन सङ्ग्रहभित्रका हरेक कविता अस्त्र बनेका छन् । परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम भएको उहाँको भनाइ छ ।

    साहित्यकार डा कृष्णराज अधिकारी बिम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गर्नुभयो ।’समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ ।’ डा अधिकारीले आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाजहरु, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको बताउनुभयो ।

    सङ्ग्रहका सर्जक चिलुवालले समाज रुपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताउनुभयो । ‘मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थताका मुद्दा सङ्ग्रहमा बढी केन्द्रीत छन्, सँगसँगै म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभएर आम महिलासँग जोडिएका छन् ।’ चिलुवालले कविता हरेक परिवेश र घटनाक्रमका  साक्षी र आफ्नो समयको दस्ताबेज हुनेगरेको बताउनुभयो।

    ‘यो एउटा दस्ताबेज पनि हो जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ‘ उहाँले भन्नुभयाे। उहाँले कविताको बारेमा आम पाठक नै  न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको बताउनुभयो । बेला प्रकाशनले बजारमा ल्याएको चुल्ठोमा ५५ वटा कविता सङ्गृहीत छन् ।-रासस

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *