हेटौंडा \ सामूदायिक सेवा केन्द्र मकवानपुर तथा सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आइतबार विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरण गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाको प्रमुख आतिथ्यता तथा सेवा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै डिआईजी राणाले मकवानपुर ड्रग्सको हवको रुपमा रहेको भन्दै यसको न्यूनीकरणमा टिमवर्कमा काम गर्नुपर्ने बताइन् ।

उनले प्रदेशमा सात हजार बर्दीवाला प्रहरी छन् बिनाबर्दीका प्रहरी तपाईहरु हो, सहकार्य र समन्वयमा हामीले लागु औषध सेवन, साईबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न हामी एकजुट हुनुपर्ने बताइन् । विद्यालय स्तरबाटै हामीले सचेतना वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिदैं, मकवानपुरमा गाँजा र अफिमको खेती भइरहनेले त्यसतर्फ प्रहरी र आम नागरिक सचेत हुनुपर्ने बताईन् ।
कार्यक्रममा सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन सहित सञ्चारकर्मी प्रकाश दाहाल, प्रवेश धिताल कुन्दन र विश्वराम अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत तीस जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सेवा केन्द्रका मानार्थ सदस्य एंव जिजस पुर्व प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, सेवा केन्द्रका सहसचिव महेश्वरमान श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको थियो । कार्यक्रममा साइबर अपराध, लागु औषध सम्बन्धी सचेतना एंव आजीवन सदस्यता वितरण समेत गरिएको थियो ।