रुकुम पूर्वबाट तीर्थयात्री लिएर रोल्पाको जलजलामा पूजाआजाका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको ज्यान गएको छ । जिपको छतमा बसेका एकजनाले मात्रै हाम फालेर ज्यान जोगाएका छन् । लु.१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका– १, सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनील थापा नेपालीले जानकारी दिए । उनका अनुसार चालकसहित २१ सवार जिप सडकबाट करिब आठ समय मिटर तल खसेको थियो । छतमा बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामी मात्रै हाम फालेर जोगिएका छन् ।
मृतकहरू सबै टाकुराकै रहेको र उनीहरूको पहिचान हुन बाँकी नै रहेको नेपालीले बताए । उनका अनुसार थबाङ आधारभूत अस्पतालमा उपचार भइरहेका घाइते समीरको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट लागेको छ । दुर्गम क्षेत्र र पानी परेका कारण टेलिफोन नेटवर्कले काम नगर्दा शव उद्धारमा कठिनाइ भएको प्रहरी सूचना अधिकारी नेपालीले बताए ।
निरन्तर परेको पानीका कारण कच्ची सडक चिप्लो भएको र जिपमा क्षमताभन्दा बढी यात्रु भएकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोल्पा जलजलामा वैशाख पूर्णिमाको अवसरमा बराह पूजा लाग्छ । रोल्पा, रुकुमलगायत जिल्लाबाट आउने तीर्थयात्रीको घुइँचो लाग्छ ।
दुर्घटना अध्ययन गर्न चार सदस्यीय समिति गठन
गृह मन्त्रालयले रोल्पा दुर्घटना अध्ययन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ । उक्त समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्मा, सशस्त्र प्रहरी बल रोल्पाका डिएसपी र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य तोकिएका छन् ।
जो भाग्यले बाँचे
जिपमा सवार चालकसहित २० जनाको ज्यान जाँदा रुकुम पूर्वको सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामी मात्रै हाम फालेर जोगिए । उनी छतमा बसेका थिए । सँगै छतमा बसेका उनका साथीको पनि ज्यान गयो । आफू भने हाम फालेर रुखको जरा समाएर जोगिएको उनले बताए ।
‘हामी जलजलामा पूजाका लागि गइरहेका थियौँ । ममी पनि हुनुहुन्थ्यो । सबै गाडीभित्र थिए, म र एकजना साथी छतमा बसेका थियौँ । जिप एक्कासि भिरमा गयो । छतबाट हामी दुवैजना हाम फाल्यौँ । तर, साथी तलतिर हाम फालेकाले गाडीले च्यापेर भिरतिर लग्यो, म साइडतिर हाम फालेकाले रुखको जरा समाएर बाँचेँ,’ थबाङ आधारभूत अस्पतालमा उपचाररत समीरले भने ।