हेटौंडा \ बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो । उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेसँगै अनिश्चिकालका लागी स्थगित भएको बैठक दुईमहिनापछि सोमबार दिउँसो साँढे एकबजेका लागी तय गरिएको थियो ।
तर सरकारले बजेट पास गर्नेवेला गरेका सहमति पालना नगरेको भन्दै एमाले लगाएत विपक्षी दलहरुले बैठक चल्न नदिने चेतावनी दिएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागी सरकारले विगतमा सरकारले गरेका सहमति पालना गर्नुपर्ने माग गरेको थियो ।
लामो समयसम्म बिजिनेसविहीन हुँदा बस्न नसकेको बैठकमा यसपटक प्रदेश सरकारका तर्फबाट प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भएका छन् । तर संसद बैठक नै बस्न नसकेर पटक पटक स्थगित भइरहँदा प्रदेश सरकार, प्रदेश सभा र सांसदहरुको समेत कार्य क्षमता माथी नै प्रश्न उठ्न थालेको छ ।
प्रदेश सभा सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ ।