हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताउनुभएको छ । विहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख शर्माले हामी नेपालीका विभिन्न खाले चाडपर्वहरू हुन् आफ्नै खालका मौलिकता हुन् । आफ्नै खालका विशेषता रहेको बताउनुभयो ।
उहाँले यी मौलिकताहरू, विशेषताहरु अन्तर्राष्ट्रिय क्षेत्रमा जतिखेर प्रस्तुत हुन्छन् ’हाम्रो धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, विविधता, संस्कृति, साँस्कृतिक विविधतालाई देखेर विदेशीहरुले हाम्रो प्रशंसा गर्ने भन्नुभयो । हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वहरुलाई जोगाएर बचाएर तडकभडक भन्दा बा हिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु, प्रमुख शर्माले भन्नुभयो ।
उहाँले अनुभव सुनाउँदै हामी साना साना कुरामा खुसी हुन सक्छौ, हामीलाई ठुलठुला कुरा चाहिदैन् हामी तीज दशैँ, तिहार, छठ, इद ल्होछार लगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका छौं र मनाउनु पनि पर्छ, उहाँले बताउनुभयो । आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झण्डालाई उचो राख्नका लागि आग्रह गर्नुहुँदै प्रमुख शर्माले यसले हामीलाई भावनात्मक रूपमा एकसुत्रमा बाँधेर नयाँ नेपालका निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताउनुभयो । उहाँले आगामी पर्वहरूको शुभकामना दिनुहुँदै सफल, सुखद र आनन्ददायी रहोस भनी भन्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका राजनीति दलका प्रमुहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, सुरक्षा निकायका प्रहरीहरुको उपस्थिती रहेको थियो ।