हेटौडा / बागमती प्रदेशमा वैदेशीक रोजगारीका क्रममा मृत्यु हुनेको दर वर्षिक रुपमा बढ्दो रहेको छ । विगतको तुलनामा गत आर्थिक वर्षमा उक्त दर केही घटेपनि समग्र रुपमा वैदेशीक रोगजारीमा गएकाहरुको मृत्युदर घट्न सकेको छैन । बागमती प्रदेशमा वैदेशीक रोजगारीका क्रममा गत आर्थिक वर्ष २०७९\०८० मा १२५ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । जुन आर्थिक वर्ष २०७५\०७६ को तुलनामा १०० अंकले बढेको हो । आर्थिक वर्ष २०७५\०७६ मा वैदेशीक रोजगारीका क्रममा बागमती प्रदेशका २५ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७६\०७७ मा वैदेशीक रोजगारीका क्रममा प्रदेशका ९५ जनाको मृत्यु भएको वैदेशीक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७७\०७८ र २०७८÷०७९ मा १६९÷१६९ जनाको मृत्यु भएको छ ।
वैदेशीक रोजगारीका क्रममा आर्थिक वर्ष २०७५\७६ मा प्रदेशमा विभिन्न घटनामा परेर ५३ जना अंगभंग भएका छन् भने आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा २२/२२ जना अंगभंग भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ३२ जना र २०७९/०८० मा ३८ जना अंगभंग भएको तथ्यांक रहेको छ । वोर्डको तथ्यांक अनुसार मकवानपुरमा आर्थिक वर्ष २०६५/०६६ देखि २०८०/८१ को अवधिमा बागमती प्रदेशको मकवानपुरमा रोजगारीको क्रममा पुगेका १९३ जनाको मृत्यु भएको छ भने आर्थिक वर्ष २०७०/०७१ देखि २०८०/०८१ सम्म ६२ जना बिरामी र अंगभंग भएका छन् ।
चालु आर्थिक वर्षको साउन यता मात्र मकवानपुरमा ११८ वटा वैदेशीक रोजगारीमा गएकाहरुको समस्याहरु देखा परेको छ । उक्त संख्याको उजुरी आप्रवासी स्रोत केन्द्र मकवानपुरमा दर्ता भएको छ । दर्ता भएका मध्ये ४८ वटा समस्या समाधान भएका छन् भने ७० वटा प्रक्रियामा रहेका छन् । केन्द्रले वैदैशीक वोर्ड, श्रम रोजगार मन्त्रालय र सम्बन्धीत देशको दुतावाससंगको समन्वयमा समस्या समाधान गर्ने गरेको छ । केन्द्रको पहलमा विभिन्न समस्यामा परेकाहरुको उद्धार तथा राहत र वैदेशीक रोजगारीमा ठगिएकाहरुको क्षतीपूर्तिा वापत मकवानपुका ९९ लाख ३१ हजार रुपैयाँ फिर्ता गराएको छ । जसमा ठगि वापतको ३० लाख ७६ हजार रुपैयाँ, मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतीपूर्ति वापत ५ लाख ५० हजार रुपैयाँ, अंगभंग तथा बिरामी भएका व्यक्तिका लागि १२ लाख ५५ हजार, उद्धारका लागि एक लाख रुपैयाँ प्राप्त भएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत विभिन्न चेतनामुलक क्रियाकताप तथा कार्यक्रम सांलन गरिएपनि वैदेशिक रोजगारीको मोहसँगै असुरक्षा पनि बढेको छ । सामी कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहले सुरक्षित वैदेशीक रोजगारी सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन भइरहेका हेल्भिटास नेपालको कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिइन् । उनका अनुसार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको वैदेशीक रोजगारमा रहेका नेपाली कामदार र परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मूलुकमा मर्यादीत कार्य वातावरणबाट लाभान्वित गराउने लक्ष्य रहेको छ ।
पछिल्लो समय श्रम स्वीकृती नलिई वैदेशीक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य गरी वैदेशीक रोजगारीका लागि बागमती प्रदेशबाट खाडी मुलुकहरु (मलेसिया, कतार, दुवई, कुवेत, दक्षिण कोरिया, रोमानीया, क्रोसिया, माल्टा, साइप्रस, र मालदिप्स) जाने गरेका छन् । वैदेशीक रोजगारको लागि खुल्ला गरिएका देशहरु १११ वटा बाहेक हाल रोक्का गरिएका देशहरु अफ्गानिस्तान, लिविया र ईराकमा पनि नागरिकहरु पुग्ने गरेको उनले बताइन् ।
बागमती प्रदेशका १५ प्रतिशत नागरिकले वैदेशीक रोजगारीका लागि श्रम स्वीकती लिएका छन् । वैदेशीक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा मात्र बागमती प्रदेशबाट कुल जनसंख्याको १५.१६ प्रतिशतले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् । बागमती प्रदेशका १ लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्यांकमा उल्लेख छ । जसमा २६ हजार १७० जना (२२.३८ प्रतिशत महिला रहेका छन् भने ९० हजार ७६२ जना (७६.६२ प्रतिशत) पुरुष रहेका छन् ।
वैदेशीक रोजगारीमा जानका लागि श्रम स्वीकृती लिनेहरुमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनका १५ हजार ८२३ जना वैदेशीक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् भने मकवानपुरका १३ हजार १०१, धादिङका १२ हजार ५४०, सिन्धुलीका १२ हजार ३, काठमाडौंका ११ हजार ९४८ श्रम स्वीकृती लिएका छन् । सिन्धुपाल्चोकका १० हजार ७६५, नुवाकोटका ९ हजार ९६६, काभ्रेका ७ हजार ६४८, रामेछापका ७ हजार ५६२, दोलखाका ६ हजार ५७१, ललितपुरका ३ हजार ८९२, भक्तपुरका ३ हजार ६८५ र रसुवाका १ हजार ३९२ जनाले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् ।