हेटौंडा \ हेटौंडा–११ सिमलटारमा निर्माण भएको फुटबल खेलमैदानको उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले नव निर्मित खेल मैदानको उद्घाटन गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको १० र हेटौंडा ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरीएको हो ।
खेल मैदानको उद्घाटन गर्दै नगर प्रमुख लामाले खेलकुदको विकासका लागि पुर्वाधार निर्माणको कामलाई गति दिएको बताइन् । नगरका १९ वडाहरुमा खेलमैदान निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरी काम भईरहेको भन्दै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि लागिरहेको बताइन् ।
उपमहानगर क्षेत्र भित्र रहेपनि सिमलटारबासी जमिन र खानेपानीको समस्यालाई समाधान गर्नका लागि नीतिगत रुपमा काम गरीरहेको बताइन् । जमिनको अधिकारका लागि पहिलो चरणको काम भएपनि धनीपुर्जाको काम हुन नभएपनि चाडै त्यसको व्यवस्थापनको काम हुने विश्वास व्यक्त गरीन् । उनले खानेपानीको व्यवस्थापनका लागि उपमहानगरबाट बजेट विनियोजन भएर खानेपानी बोर्डले काम गरीरहेको बताइन् ।
नगर प्रमुख लामाले नियम र कानुनको परिधि भित्र रहेर काम गरीरहेको बताइन् । सिमलटार लक्षित गर्दै बुद्धपार्क, राप्ति रिभर पार्क, खेलमैदानको काम भएपनि बाक्लो बस्तिमा बाल उद्यानको काम हुन नसकेको प्रति चासो दिँदै चाडै कामलाई अघि बढाइने बताइन् ।
कार्यक्रममा उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले काम गर्ने बताए । उनले मैदानको व्यवस्थापन गर्दै आउँने पिडीलाई अघि बढ्ने अवस्था तयार पार्ने जिम्मेवारी हामीहरुमा रहेको बताए । उनले खेलकुदको विकासका लागि उपमहानगर लागि रहेको बताए ।
सिमलटार टोल विकास सस्थाका अध्यक्ष सुर्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे, वडा सदस्य सञ्जय विडारी वडा खेलकुल विकास समितिका अध्यक्ष प्रभाकर पुडासैनी लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा खेलमैदान निर्माणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नेहरु र स्थानीय महिला बाजा समुहलाई सम्मान गरीएको थियो । सिमलटार क्षेत्रमा करिब १७ सय घरघुरी बसोबास गर्दै आएका छन् ।