कैलाश \ कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा सञ्चालित चाउमिन बनाउने तालिम मंगलबार समापन भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सीप सिकेर व्यवसाय गर्न आग्रह गरेका छन् । सीप सिक्नुभयो, अब व्यवसाय गर्नुस्, वीऊपुजीँको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्नेछौं, अध्यक्ष मुक्तानले भने ।
हामीले वडागत रुपमा कुन वडालाई कुन किसिमको तालिमको आवश्यकता छ सोही अनुरुप तालिमको आयोजना गर्दै आइरहेको बताउँदै सीपलाई समूदायसम्म पुगी व्यवहारमा उतार्नुपर्ने उनले बताए । भौगोलिक विकटताले बजारिकरणमा समस्या भएता पनि यहाँ उत्पादन भएका चाउमिनलाई पालिकाभर मात्र नभई मनहरी क्षेत्रमा समेत विक्री गर्ने लक्ष्य लिएर काम गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
गाउँपालिकाको विकासका कामहरु भइरहेको अवस्थामा हामीले नागरिक र लक्षितवर्ग क्षेत्रमा सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । उद्देश्य हाम्रो व्यवसायी वा उद्यमी बन्ने हो तर अहिले विस्तारै सीप र उद्यमशीलतातर्फ उन्मूख गराउँदै आइरहेका छौं, उनले भने । भौतिक विकास मात्रै नभई हामीले मानवीय र सामाजिक विकासतर्फ पनि ध्यान दिइरहेको उनले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले स्थानीय स्तरबाटै उत्पादन गरेर व्यवसाय गर्न सकिए आर्थिक पक्ष बलियो रहने बताए । सिकेको सीपलाई हस्तान्तरण गर्दै लैजानु भयो भने आफुमा निखरता बढ्दै जाने बताए ।

सीप सिकेर आगामी दिनमा व्यवहारमा उतार्दै अघि बढ्ने सहभागी संगीता प्रजाले बताईन् । सीपले जीवनयापनमा ठुलो योगदान पुग्नुका साथै नयाँ आम्दानीको स्रोत रहने बताईन् । चाउमिन बनाउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता दिँदै बजारीकरणमा समस्या रहने प्रजाले बताईन् ।
महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गिक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो । १४ दिन सम्म सञ्चालित तालिममा १७ जना गृहिणी महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, चाउमिन तालिमका प्रशिक्षक रेशम थिङ लगायतको आतिथ्यता रहेको थियो । तालिम ७ दिन चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका विषयमा तालिम प्रदान गरिएको थियो ।