हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरको १४ औं स्थापना दिवसको अवसरमा विद्यालयलाई वाटर प्यूरिफायर र खाद्यान्न सहयोग गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ छाप स्थित कालिदेवी आधारभूत विद्यालयलाई खानेपानीका लागि वाटर प्यूरिफायर र दिवा खाजाको लागि खाद्यान्न सहयोग गरिएको हो ।
एशोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष बखानसिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्य, वडा सदस्य सुधारजीत गोले, विद्यालयका अध्यक्ष कृष्णबहादुर मोक्तान र विद्यालयका प्रअ केशवप्रसाद देवकोटाको विशेष आतिथ्यता रहेको कार्यक्रममा एशोसिएसनका सल्लाहकारद्धय कुमारमणि त्रिपाठी र विवेक आनन्द न्यौपाने,सुनिता केशरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई सफा र स्वच्छ पानी पिउनको लागि एक थान वाटर प्युरिफायर प्रदान गरिएको एशोसिएसनका अध्यक्ष न्यौपानेले बताए । त्यस्तै दिवा खाजामा थप हुने उद्देश्यले चिउरा, प्याज, आँटा, भुजा लगायतको खाद्यान्न सामाग्री प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताए । वाटर प्युरिफायरलाई एशोसिएसनका कार्यसमिति सदस्य पप्पु केशरीले सौजन्य गरेका हुन् ।
एशोसिएसनले दिवसकै अवसरमा शनिबार हेटौंडा १ भैरवडाँडा अवस्थित पाथिभरा मन्दिरलाई एक सेट डस्टिविन सहयोग गरेको थियो भने आइतबार रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । एशोसिएसनले सोमबार हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको थियो ।
यसैगरी १६ गते शुक्रबार देखी २५ गते सम्म संस्थाका आवद्धता शुल्कमा विशेष छुट रहेको एशोसिएसनका अध्यक्ष न्यौपानेले बताए । जसमा हेटौंडा उपमहानगरभित्रका व्यवसायीहरुलाई संस्था प्रवेश शुल्कमा ५० प्रतिशत छुट र अन्य स्थानीय तहका व्यवसायीहरुलाई शतप्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष न्यौपानेले बताए ।