कैलाश \ कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाभित्र खानेपानी क्षेत्रमा काम गर्ने विभिन्न साझेदारी संस्थासँग सहकार्य गरेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने बताएका छन् । विहीबार गाउँपालिकामा आयोजित खानेपानी तथा पूर्ण सरसफाई अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने बाह्य संस्थासँग सहकार्य गरेर खानेपानी क्षेत्रको विकासमा गाउँपालिका लाग्ने बताए ।
दीगो विकास लक्ष्य अनुसार सुरक्षित स्रोत, प्रयोग गरिने स्थानको उपलब्धता र आवश्यकता अनुसार प्रर्याप्त पानीका स्रोत भएमात्रै घरघरमा पानी लान सकिने उनले बताए । हामीलाई सफा पानी भन्दा पनि सुरक्षित पानी आवश्यक पर्दछ, मानव स्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रसायनिक पदार्थ नभएको पानी हामीलाई आवश्यक हो, अध्यक्ष मुक्तानले भने ।
पानीबाट विभिन्न रोगहरु लाग्ने भएकाले सुरक्षित पानीको लागि गाउँपालिकाले आवश्यक योजना बनाएर काम गरिरहेको उनले बताए । सरसफाईका कारण देशमा वार्षिक सयौं नागरिकहरुको मृत्यु भइरहेको अवस्थामा योजना तर्जुमा तथा व्यवस्थापनको सूचकमा रहेर गाउँपालिकाले आवश्यक काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ले स्थानीय सरकारको एकल अधिकारभित्र अनुसुची ८ मा उल्लेख भए बमोजिम आधारभूत स्वास्थ्य तथा सरसफाइलाई कार्यान्वयन गरिरहेको उनले बताए ।
गाउँपालिकाले खानेपानीको क्षेत्रका लागि ४ वटा साझेदारी संस्थासँग सहकार्य गर्दै आइरहेको छ, हामीले बजेट ल्याएपछि पनि एकपटक पुनः कार्ययोजना बनाई छलफल गर्नेछौं, उनले भने । सीमान्तकृत वर्ग, जनजातीहरुको बाहुल्यता रहेको कैलाशका नागरिकमा चेतनाको कमी रहेको अवस्थामा टोलबाटै सचेतना जगाउनु पर्नेमा उनले जोड दिए । खुल्ला दिसामुक्त राष्ट्र हो तर विडम्बना कैलाशमा करिब ४६ प्रतिशतको घरमा शौचालय छैन् । मानिसमा चेतनाको विकास नै भएन, बालबालिकालाई सजिलै चेतना जगाउन सकिन्छ तर वयश्कलाई नसकिने अध्यक्ष मुक्तानले भने ।
कार्यक्रममा शान्ति नेपाल संस्थाका संस्थापक अध्यक्ष डा. कृष्णमान श्रेष्ठले खानेपानी, पूर्ण सरसफाई र स्वच्छताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पूर्ण सरसफाईका सूचक, खानेपानी सरसफाई र स्वच्छताका असरहरु, पानीबाट लाग्ने विभिन्न रोगहरु, पानी शुद्धिकरणका घरेलु विधि, दीगो विकास लक्ष्यको १७ वटा लक्ष्यमध्ये ६ नम्बरमा रहेको स्वच्छ पिउने पानी तथा सरसफाईका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । साथै सरकारले ल्याएको पूर्ण सरसफाई मार्गदर्शन,२०७३ बारे जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ४ का वडाध्यक्ष तिलकबहादुर मुक्तान, ७ का वडाध्यक्ष उदास ब्लोन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवसिं घलान, १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्यहरु गोरीमाया भुलुन, सुन्तली सुनुवार, राममाया प्रजा, शान्ति नेपालका संस्थापक अध्यक्ष डा. कृष्णमान श्रेष्ठ, नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का कार्यक्रम संयोजक लिलबहादुर कार्की, प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, समाजका परियोजना संयोजक उद्धव बहादुर चेपाङलगायतको आतिथ्यता रहेको थियो ।