कैलाश \ मकवानपुरको विकट कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् । खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाशले पहिलो पटक सुनिश्चिताको घोषणा गरेको हो ।
जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले. पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरे सँगै कैलाशलाई घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउत, नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाका कार्यक्रम संयोजक लिलबहादुर कार्की, प्रेम सेवा समाजका अध्यक्ष मिरा स्याङ्तान, सिडिपिएनका कमल अर्याल, सुन्दर ढोका साथी सेवा परियोजना संयोजक राम कार्की, लगायत ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रका काम गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार गणेश दुलाललाई नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो भने तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो । गाउँपालिका घोषणा अघि बैशाखको अन्तिम सातामा पूर्णखोप वडा सुनिश्चित घोषणा गरिएको थियो । कार्यक्रममै वडा घोषणा भएको प्रमाणपत्र वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

भौगोलिक दृष्टिले विकटता रहेको गाउँपालिका स्वास्थ्य र शिक्षाको क्षेत्रमा विस्तारै फड्को मार्दै आइरहेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा १ का अध्यक्ष तेजबहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ३ का वडाध्यक्ष देवलाल बल, वडा ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, वडा ८ का वडाध्यक्ष आशिष प्रजा, वडा ९ का अध्यक्ष भूवनसिं घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, जिल्ला खोप फोकल पर्सन बासुदेव रिमाल, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यालयका प्रअ, स्थानीयहरुको सहभागिता रहेको थियो ।