हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा प्रतिस्पर्धी मोवाईल व्यवसायमा चुनौति र समाधान विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपाने(सागर)को अध्यक्षता तथा नेपाल मोवाई महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यको प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रम भएको हो ।
पछिल्लो समय बजारमा प्रतिस्पर्धाका नाममा हुने गरेका मुल्य गिरावट, चिठ्ठा कार्यक्रम, सीमा पारीका फोनसेटको विक्री वितरणका साथै अस्वस्थ प्रतिस्पर्धा रहेकाले मोवाईल व्यवसायीहरुको उपस्थितीमा व्यवसायमा परेका चुनौति र त्यसको समाधानका विषयमा बृहत छलफल गरिएको कार्यक्रम संयोजक एंव वरिष्ठ उपाध्यक्ष राजकुमार दाहालले बताए ।
अन्तरक्रियाका उठेका समस्याहरुलाई एशोसिएसनका अध्यक्ष र केन्द्रीय उपाध्यक्षले समाधानका बाटो तय गरेका छन् । अन्तरक्रिया पछि बिना बिल तथा सीमा पारीबाट आएका समानहरुको विक्री वितरण गर्न नपाउने, पुराना मोवाईल खरिद गरि विक्री तथा साट्दाखेरी अनिवार्य रुपमा ग्राहक सम्झौता पत्र लागू हुनुपर्ने, नयाँ मोवाईल विक्री गर्दा कम्पनीले तोकेको एमआरपी मुल्यमा विक्री गर्नुपर्ने जस्ता विषयहरुमा छलफल गरिएको दाहालले बताए ।
हेटौंडा बजारमा पछिल्ला समय अवस्थ प्रतिस्पर्धाले गर्दा विभिन्न नियमहरु निर्माण गरि नियम उल्लघन गर्ने व्यवसायीलाई तोकिएको जरिवाना समेत लिने गरि प्रतिवद्धता जनाइएको एशोसिएसनका अध्यक्ष न्यौपानेले बताए । चोरीको फोन खरिद विक्री गर्दा धेरै व्यवसायीहरु समस्यामा रहेकाले अबदेखी त्यसलाई ध्यानमा राखेर आवश्यक प्रक्रियामा खरिद विक्री गर्ने निर्णय गरिएको न्यौपानले बताए ।
कार्यक्रममा महासंघका बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, निवर्तमान अध्यक्ष नवराज चौलागाई, पूर्व अध्यक्ष दिनेश लामा, सल्लाहकारहरु कुमारमणि त्रिपाटी, विज्ञान घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।