बकैया \ पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमवार एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले आर्थिक वर्ष ०८२/८३ को लागि प्रस्तुत गरेको बजेट चालु आवको भन्दा एक करोड ८७ लाख ४९ हजार कम हो । बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो ।
आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैया रहने प्रक्षेपण गरिएको छ । विनियोजित बजेट मध्ये पूँजीगत खर्च तर्फ २८ करोड ६ लाख ९१ हजार, चालु तर्फ ६३ करोड ६५ लाख ५९ हजार बजेट बिनियोजन गरिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजार सहित जम्मा ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ ।
पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीयतह घोषणा गर्न ७५ लाख, चिस्याकेन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख तथा कार्यपालिका सदस्यहरुलाई ८ लाखको दरले ४८ लाख सहित ५ करोड २८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिक ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्ड स्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । पालिकाले ल्याएको बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो ।
गाउँसभामा पालिका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रसाशकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतकाको उपस्थिती रहेको थियो । बकैयाको गाउँ सभामा सम्मान तथा पुरस्कार हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले एघारौँ गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा उपभोक्तालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । पालिकामा सोमवार आयोजित कार्यक्रममा उत्कृष्ट उपभोक्ता समितिको रुपमा बकैया–१ को कत्लेखोला कल्भट निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायीमा विएण्ड वी कन्ट्रक्सन, करदातामा कुमार रोशन सिचुआन जेभी, गैर सरकारी संस्था तर्फ इथर बेन्जामिन संस्था तथा उत्कृष्ट रोजगारदाता शिवपुरी फ्रेस डेरीलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ बकैया ६ मा रहेको जुइना आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी शान्ति पाख्रिन, ११ नंं वडा कार्यालयका कार्यालय सहयोगी शेरमान गोले, हात्तिसुडे आधारभूत स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चन्द्र बहादुर भ्लोनलाई नगद पाँच हजार सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै शिक्षा तर्फ उत्कृष्ट शैक्षिक शिक्षण गर्ने बकैया ५ किसान जागरुक सिद्धार्थ प्राविका शिक्षिका सम्झना रुम्बा, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–७ माटोकोरी आविका प्रअ शिव प्रसाद बोलखे, एसईइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया –९ बाघ भैरव माविका रमेश कुमार लामालाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो । त्यस्तै सिमात आधारभूत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा खोप तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखि कार्यगर्ने विना कुमारी स्याङतान, पशु विकास सेवा तर्फ रामकृष्ण तिमल्सिना, कृषि विकास सेवा तर्फ भावना अधिकारी, प्राविधिक कर्मचारी तर्फ मोहमद मेराज आलम, वडा सचिव तर्फ युवराज ठाडा मगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।
सर्वोत्कृट कर्मचारी तर्फ सहायक प्रहरी निरिक्षक प्रमोद थापालाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्ता बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायतकाले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।