हेटौँडा \ हेटौँडाको वडा नं. १६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस वर्षबाट भर्ना भएका सबैलाई विज्ञान सङ्काय निशुल्क अध्यापन गराउने बताएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ ले शिक्षाको विकास र सामाजिक उत्तरदयित्व स्वरूप जनप्रिय माविमा विज्ञान सङ्काय अध्ययन गर्ने सबैलाई निशुल्क पठनपठनको व्यवस्थापन गर्न लागेको हो । आफ्नो वडामा रहेको नमूना विद्यालय जनप्रिय माविलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन यस्तो अभियान सुरु गरिएको उप महानगरपालिकाका सामाजिक विकास समेत रहेका १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।
देशमा विज्ञान तथा गणित विषयका जनशक्ति अपुग भएको र शिक्षामा दक्ष जनशक्ति भित्र्याउन यो अभियान उदाहरणीय हुने समेत उनको दाबी छ । विज्ञान सङ्काय सामान्य परिवारका व्यक्तिलाई महङ्गो पर्ने र इच्छा भएर पनि अन्य साधारण धारका विषयतर्फ अध्ययन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्न समेत यसलाई धेरै सरोकारवालाले उदाहरणीय कार्यका रुपमा लिएका छन् । यता जनप्रिय माविका प्रधानाध्यापक भूपेन्द्र चौलागाईँले भौतिक अवस्था र शिक्षाको गुणस्तरमा मध्य नेपालकै हबको रुपमा विकसित हुँदै गएकोले निर्धक्क र निशुल्क विज्ञान सङ्काय अध्ययन गर्न जनप्रिय मावि आउन सरोकारवालालई आग्रह गरेका छन् । प्राविधिक धारका बालिविज्ञान, पशुविज्ञान तथा इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा विगत लामो समयदेखि विज्ञान विषय दक्ष जनशक्तिबाट अध्यापन गराउँदै आएको जनप्रियमा विज्ञान सङ्काय सञ्चालन गर्न थप जनशक्ति समेत धेरै आवश्यक नपर्ने चौलागाईँको दाबी छ ।
विगतको तुलनामा नतिजामा गुणात्मक सुधार हुँदै गएको जनप्रियमा देशका जुन कुनै भागबाट पनि निशुल्क विज्ञान सङ्काय अध्ययन गर्न आउन सकिने चौलागाईँको भनाइ रहेको छ । जनप्रिय माविले शिक्षा, मानविकी, व्यवस्थापन, बालिविज्ञान ९-१२ तथा प्राविधिक धारका बालीविज्ञान, पशुविज्ञान, इलेक्ट्रिकल इन्जिनियरिङ्ग लगायतका विभिन्न सङ्कायमा अध्यापन गराउँदै आएको छ । रोजगारी र स्वरोजगारका क्षेत्रमा समेत उल्लेख्य ख्याति कमाउँदै आएको जनप्रिपय माविले यो वर्षबाट भने वडा कार्यालयको व्यवस्थापनमा विज्ञान सङ्काय निशुल्क सञ्चालन गर्न लागेको हो । जनप्रिय माविले निशुल्क विज्ञान सङ्काय सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपक खरेलले शुभकामना समेत व्यक्त गरे ।
यता लामो समय शिक्षा क्षेत्रमा जीवन समर्पण गरेका शिक्षासेवी रमेशप्रसाद लामिछानेले विपन्न लक्षित दक्ष जनशक्ति उत्पादन गर्न जनप्रियले थालेको यो कार्य जत्ति प्रशंसा गरेपनि नपुग्ने धारणा व्यक्त गरे । यता मकवानपुरकै पूर्वी क्षेत्रको शिक्षा विकासमा लागिपरेका समाजसेवी एवम् ज्योति मावि हर्नामाडीका विव्यस अध्यक्ष हर्क रम्तेलले पनि जनप्रियमा सञ्चालन हुँदै गरेको निशुल्क विज्ञान सङ्काय सञ्चालन सफलताको शुभकामना व्यक्त गरे । रम्तेलले यस्तो पूनित कार्यमा आफूले पनि सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे ।
यसैबिच हेटौँडा १६ निवासी समाजसेवी एवम् जनप्रिय माविका स्रोत खोजी व्यवस्थापन संयोजक कृष्णप्रसाद पनेरुले कक्षा ११ को विज्ञान सङ्कायमा जनप्रिय माविबाट एसइइ उत्तीर्ण गर्ने तथा वडा नं १६ बाट जनप्रिय माविमा विज्ञान विषय पढ्न आउने सबै विद्यार्थीलाई शैक्षिक प्रोत्साहन स्वरुप जनही रु. २ हजार प्रदान गर्ने घोषणा गरेका छन् । जनप्रिय माविका व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले यस कार्यमा लागिपर्ने सबै सम्बद्ध पक्षलाई हार्दिक आभार व्यक्त गर्दै सहयोग र रचनात्मक सुझावका लागि समेत अपिल गरेका छन् ।