हेटौंडा \ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण ( जनसाङ्गीतिक साँझ कार्यक्रम हुने भएको छ । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा आउदो ७ गते स्वर समर्पण ( जनसाङ्गीतिक साँझ कार्यक्रम हुन लागेको हो ।
हेटौंडा उपमहानगरपालिका ४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघले १४ वटा जनवादी गीतहरुको प्रस्तुति दिने तयारी गरेको छ । यस्तै अनेरास्ववियु लगाएत अन्य जनसंगठनहरुको समेत विशेष प्रस्तुती रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले बताए ।
कार्यक्रममा पार्टी स्वयंसेवक विभागले स्वयमसेवक व्यवस्थापन र परिचालनको जिम्मेवारी सम्हालेको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुख पौडेलले कार्यक्रमको तयारी पूरा भैइसकेको बताउदै जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भातृ संगठनहरु को समन्वय र परिचालन गर्ने वैधानिक संरचना हो । संयन्त्रले जनसंगठनहरुको प्रभावकारी परिचालन, वैचारिक राजनितिक प्रशिक्षण, जनता सँग जनसंगठन अभियान सञ्चालन लगाएत आधारभुत तहसम्म जनसंगठन विस्तार र सुदृढीकरणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । यस्तै यस वर्ष पुष्पलाल स्मृती दिवसको सन्दर्भमा आयोजित स्वर समर्पण ( जनसाङ्गीतिक साँझ कार्यक्रमले नयाँ पुस्तालाई जनवादी गीत संगीत मार्फत नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जिवनको बारेमा बुझाउने अपेक्षा आयोजकको रहेको बताए ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए ।
छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार समेत स्थापना गरेको छ ।