हेटौंडा \ वि.पी विचार समाज मकवानपुरले ४३ औं वि.पी स्मृती दिवसको अवसरमा वि.पी बाटिका क्षेत्रमा सरसफाई गरेको छ । हेटौंडा ११ मा अवस्थित वि.पी बाटिकामा सरसफाई गरिनुका साथै आजको परिवेशमा वि.पीलाई कसरी सम्झने विषयक विचार गोष्ठी आयोजना गरेको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यताका विचार गोष्ठी तथा सरसफाई कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले वि.पी बहुआयामिक, राष्ट्रिय व्यक्तित्व रहेको बताउँदै उनी राष्ट्रिय विभूति रहेको बताईन् । विपीको विचार आजको परिवेशमा पनि अत्यन्तै सान्दर्भिक रहेको उनले बताईन् । हामी सबैको नेता विपी हुन्, विपी मानव मात्र थिएनन् महामानव थिए, वडाध्यक्ष दाहालले भनिन् ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समितिका सदस्य जानकी लामा, हेटौंडा नगर सभापति उत्सव इटेनी, समाजका केन्द्रीय सदस्य एंव प्रदेश संयोजक तीर्थ पराजुली, समाजका प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, सल्लाहकार माधव आचार्य, विजेन्द्र अग्रवाल, ११ नं. वडा सभापति दीपक उप्रेती, ६ नं. वडा सभापति रामहरि तिमल्सिना, अपाङ्ग महासंघका केन्द्रीय सदस्य रामेश्वर पराजुली, क्षेत्र १(ख) सहसचिव केदार ढोडारी, समाजका उपाध्यक्ष प्रदीप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
विचार गोष्ठी पश्चात बाटिका परिसरमा विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरिएको समाजका सचिव हरिप्रसाद पौडेलले बताए । वृक्षारोपण पछि समाजले हेटौंडा १४ मा रहेको अनाथ अपाङ्ग बाल पुनःस्थापना केन्द्रमा आर्थिक सहयोग प्रदान गरिएको सचिव पौडेलले बताए ।