हेटौँडा \ बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री बन्ने होड चलिरहेको छ । हालै नियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पार्टीभित्रको दबाव र शक्ति सन्तुलनलाई मिलाउन काँग्रेसबाट २ मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय रिक्त राखेका छन् ।
नेपालको संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका बानियाँ सरकार गठनको तयारी थाले लगत्तै मन्त्री बन्नेहरुको लर्को र चर्चा सुरु हुन लागेको हो । सरकार गठन नहुँदै मन्त्री पद सुरक्षित गर्न प्रदेशसभा सदस्यहरु तीव्र दौडधुपमा छन् । काँग्रेस प्रदेशसभा सदस्यहरु मन्त्री बन्ने लबिङका लागि काठमाडौँ बसेर नेताहरुसँग भेटमा केन्द्रित भएका छन् । साउन ९ मा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव साउन १३ मा पारित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेतामा साउन १४ मा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका हुन् । दलको नेता भएलगत्तै बानियाँले केन्द्रबाट दबाव दिएर साउन १९ मा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई पदच्युत गराएका थिए ।
त्यसपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आव्हान गरेपछि बमोजिम दावी पेश गरेर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मन्त्री छान्न साउन २१ गते राती काठमाडौं पुगेका मुख्यमन्त्री बानियाँ काठमाडौंमै व्यस्त रहेका छन् । साउन २७ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा रहेका उनी शीर्ष नेताहरुसँगको छलफलमा छन् । प्रदेशमा रहेका १४ मन्त्रालय मध्ये भागबण्डामा एमालेले ६ र कांग्रेसले ८ मन्त्रालय पाउने सहमति रहेको छ । सोही अनुसार गत साउन २० मा नै मुख्यमन्त्री बानियाँको सपथसँगै एमालेले ६ मन्त्री सरकारमा पठाइसकेको छ ।
कांग्रेसबाट सुरेश श्रेष्ठ, कन्चन चन्द्र बादे मन्त्रीको सशक्त दाबेदार हुन् । काँग्रेस महामन्त्री गगनकुमार थापाको टिमबाट श्रेष्ठ मन्त्री बन्ने तयारीमा छन् । यसअघिको सरकारमा नै मन्त्री बन्ने तयारीमा रहेका उनलाई अन्तिम समयमा फिर्ता गरिएको थियो । गगन थापाको क्याम्पबाट सुरजचन्द्र लामिछाने मन्त्री बन्दा श्रेष्ठ रोकिएका थिए । हाल थापाको टिमबाट मन्त्रीका लागि उनी एकल उम्मेवारको रुपमा रहेको व्याख्या भइरहेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठ शक्तिशाली मन्त्रालयका लागि लविङ गरिरहनुभएको छ ।
यता, नेता प्रकाशमान सिंहको टिमबाट एकल उम्मेदवारको रुपमा बादे मन्त्रीको लविङमा रहेका छन् । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित उनी कांग्रेस बागमती प्रदेशका महामन्त्री समेत हुन् । उनलाई हालै कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिएको छ ।
केन्द्र सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै आलोचना भएपछि कांग्रेसले प्रदेश मन्त्रिपरिषद्लाई समावेशी बनाउने गरी अघि बढ्ने देखिन्छ । कांग्रेसभित्र समावेशी मन्त्रिपरिषद्को मुद्दा उठिरहेका बखत बागमती प्रदेशको मन्त्रीका लागि सुना परियारको नाम पनि चर्चामा रहेको छ । महिला तथा दलित कोटामा उनी मन्त्री बन्न लविङ गरिरहेकी छिन् । नेता मीनबहादुर विश्वकर्मा टिमकी प्रदेशसभा सदस्य परियार प्रवक्ता प्रकाशशरण महत सँग पनि निरन्तर सम्पर्कमा छन् । उनलाई मन्त्री बनाउन मागसहित सरकारलाई समावेशी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष ध्यानाकर्षण समेत गराइएको छ ।
महिला मन्त्रीका लागि परियारसहित परराष्ट्र मन्त्री आरजु देउवा राणा निकट रहेकी विनु रायमाझी, प्रवक्ता महत निकटकी उर्मिला नेपाल केसी र गगन थापा टिमकी याङ्कीला शेर्पा समेत चर्चामा छन् । उनीहरु निरन्तर रुपमा पार्टी केन्द्र र शीर्ष नेताहरुसँगको भेटघाटमा रहेका छन् । नेता शेखर कोइराला टिममा रहेका ४ जना प्रदेशसभा सदस्य मध्ये रमेशकुमार महत पनि मन्त्रीको लविङमा रहेका छन् । कोइराला टिमबाट यसअघि उत्तम जोशी मन्त्री भइसकेका छन् ।
सभापति शेरबहादुर देउवाको कोटाबाट प्रदेशसभा सदस्य शिवराज अधिकारी मन्त्री बनिसकेका छन्, भने कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको टिमबाट प्रभात लामा मन्त्री बन्ने प्रवल सम्भावना बोकेका सदस्य हुन् । यसअघि नै मन्त्री नियुक्त भएर सपथ ग्रहण गर्न नपाएका उनलाई वर्तमान सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिने गरी अघि बढाइएको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए । तामाङको मन्त्री पद पक्का रहेको तर, विभाग भने सन्तुलन कायम गर्नुपर्ने अवस्थामा फरक पर्न सक्ने उनको भनाई छ ।
उनका अनुसार कांग्रेसबाट मन्त्री बन्ने लविङमा रहेका रमेशकुमार महत पनि सोही मन्त्रालय पाउने पर्ने मागमा रहेका छन् । मुख्यमन्त्री बानियाँको टिमबाट कृष्णकुमार तामाङ प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बनिसकेका छन् ।