हेटौँडा \ बागमती प्रदेशका ५ जना सचिवको एकसाथ सरुवा भएको छ । प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयमा कार्यरत ५ सचिवको एकैपटक सरुवा गरिएको हो ।
संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ७२ सहसचिवहरूको सरुवा गर्ने क्रममा बागमती प्रदेशका ५ जना सचिवको पनि सरुवा भएको हो । निजामति सेवाका सहसचिवहरुलाई प्रदेश सरकारका मन्त्रालयहरुमा सचिवको जिम्मेवारी दिने व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको थियो ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका प्रशासन तथा बैठक महाशाखामा कार्यरत राना गत २०८१ फागुनमा मात्र बागमती प्रदेशमा सरुवा भएर आउनुभएको थियो । उहाँको प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा भएको छ । करिव १५ महिनादेखि बागमती प्रदेशमा कार्यरत सचिव मैनालीको संघीय संचार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिवमा सरुवा भएको छ भने २०८० भदौबाट कार्यरत सचिव श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा गरिएको छ ।
त्यसै गत फागुन १५ मा सरुवा भई बागमती प्रदेशमा हाजिर हुनुभएकी सचिव बज्राचार्यको गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । उहाँको ५ महिनाको अवधिमा नै सरुवा भएको हो । २०८१ असोजमा बागमती प्रदेशमा हाजिर हुनुभएका शाक्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ४ जना सहसचिवलाई बागमतीको सचिवमा सरुवा गरेर पठाएको छ । जसमा प्रमुख कर प्रशासकका रुपमा मध्यमस्तरीय करदाता कार्यालय काठमाडौैंमा कार्यरत पार्वती शर्मा, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनीमा कार्यरत बलराम ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत इन्द्रदेव भट्ट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत इश्वरचन्द्र मरठ्ठाको सरुवा भई बागमती प्रदेश आउनु्हुने छ ।