हेटौंडा \ हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक २४ घण्टादेखि अवरुद्ध छ । शनिबार बिहान ९ बजे खसेको सुक्खा पहिरोका कारण सिस्नेरी सडक अवरुद्ध भएको २४ घण्टासम्म पनि खुलाउन नसकिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसीबी र एस्काभेटर प्रयोग गरेर सडक खुलाउन प्रयास गरे पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको थियो ।
मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडा मार्फत् सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको थियो । आयोजनाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।
आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार शनिबार नै बाटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्न नरोकिएपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आइतबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने कार्य भइरहेको उनले बताए । सो स्थानको पहिरो हटाउन हाल ३ वटा मेसिन प्रयोग गरिएको उनले जानकारी दिए ।
पहिरो पन्छाउने काममा एस्काभेटर, जेसीबी र लोडर एक÷एक वटा प्रयोग गरिएको उनको भनाइ छ । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुंगामाटो खस्ने क्रम जारी रहेकाले कठिन भएको उनले बताए ।
पहिरो पन्छाउने काममा प्रयोग गरिएको लोडरसमेत पहिरोले पुरिएको यादवले बताए । बिहान ९ः३० बजेको समयमा पहिरो पन्छाउँदै गरेको अवस्थामा माथिबाट खसेको माटोले लोडर पुरिएको प्रमुख यादवको भनाइ छ । एस्काभेटर र जेसीबीले दुईतर्फबाट बाटो खुलाउन काम भइरहेको र दिनभरमा सक्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । उक्त स्थान साँघुरो र जोखिम युक्त रहेकाले मेसिनहरु थप गर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।
यादवका अनुसार तत्कालका लागि खोलातर्फ डाइभर्सनबाट सवारी साधन आउजाउ गराइएको छ । यद्यपि, सडक पूर्णरुपमा सञ्चालन नआउन्जेलसम्म सवारी चाप नहोस् भनेर हेटौंडा–काठमाडौँ यात्राका लागि कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना अन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाडौँतर्फको केही भाग कालोपत्रे गर्न बाँकी छ ।