आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन् ।
हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गर्छन् । हिजो बेलुकादेखि नै पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् ।
धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ । चिसो मौसम भएकाले पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस्तै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड छ । बाला चतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्नो नजिकको शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।
यस्तै देवघाटमा तनहुँ, चितवनसहित गोरखा, लमजुङ, नवलपुर, रुपन्देही, काठमाण्डौलगायतका जिल्लाबाट शतबीज छर्न पुगेकाहरुले शतबीज छरेका छन् ।