काठमाडौँ \ आज शुक्रबारदेखि नेपाली हलमा दुई विदेशीसहित तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ती हुन्– नेपाली एक्सन ड्रामा ‘परिवर्तन’, हलिउडको एक्सन–क्राइम ‘मर्सी’ र बलिउडको ‘बोर्डर २’। यी तीनै चलचित्र ‘फ्राइडे रिलिज’ अन्तर्गत प्रदर्शनमा आएका हुन्।
‘परिवर्तन’ विजय केरुङ निर्देशित नेपाली चलचित्र हो। समसामयिक विषयवस्तुमा निर्माण भएको यो एक्सनप्रधान चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट पीजी सर्टिफिकेट पाएको छ। चलचित्रले देशभर १०४ भन्दा बढी शो पाएको छ। चलचित्रलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ। देशकै दोस्रो ठुलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ। त्यस्तै, वान सिनेमाजले ९, एफक्यूबले ४ र बिग मुभिजले ३ शो दिएका छन्।
चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको मुख्य भूमिका छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा राजनीतिक विषय पनि कथाको रूपमा उठाइएको छ।
त्यस्तै, बलिउड चलचित्र ‘बोर्डर २’ एक्सन र ऐतिहासिक कथावस्तुमा बनेको हो। चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउने सङ्केत देखाएको छ। किनभने एडभान्स बुकिङमा यो फिल्मले बलिउडका यसअघिका रेकर्डहरू तोडेको छ।
सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को दोस्रो शृङ्खलाका रूपमा निर्माण भएको यो चलचित्रलाई अनुराग सिंहले निर्देशन गरेका हुन्। चलचित्रमा सनी देओलका अलावा वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीको मुख्य भूमिका छ। जेपी दत्ता, निधि दत्ता, भूषण कुमार र कृष्ण कुमारले मिलेर चलचित्र निर्माण गरेका हुन्।
हलिउडको चलचित्र ‘मर्सी’मा क्रिस प्राट र रेबेका फर्गुसनको अभिनय रहेको छ। एक्सन–क्राइम जनरामा निर्माण भएको चलचित्रले पीजी सर्टिफिकेट पाएको छ। निकट भविष्यको पृष्ठभूमिमा आधारित यो चलचित्रको कथा एउटा अत्याधुनिक ‘एआई न्यायाधीश’को विषयमा केन्द्रित छ।