पोर्चुगल \ किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । लिम्बुहरुको महान चाड चासोक तङ्नाम ५०८५ को पावन अवसर पारेर आगामी डिसेम्बर ८ सोमबारका दिन लिस्बोन स्थित सिटि वोकमुन्दोमा कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) को साथमा समधुर स्वरकी धनी गायिका मिजिरा सम्बाहाम्फेको साँगीतिक प्रस्तुति रहने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रूपमान केरूङले बताउनु भयो ।
चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानेका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । ‘याक्थुङ मुन्धुम’ मा चासोक तङ्नामको शुरुवातबारे वर्णन गरिएको अध्यक्ष केरुङ्ले बताउनु भयो ।
मुन्धुमअनुसार कृषि युगअघि आदिम याक्थुङ्वाका पूर्खा सावायेत्हाङहरू जङ्गलमा पाइने तरुल, भ्याकुर, कन्दमूल आदि आगोमा नपकाई का“चै खाएर जीवनयापन गर्थे । जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ (प्रकृति) को पूजाआराधना गरे । त्यसपछि उनीहरूले पेनारमाङदःक् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन पनि पत्ता लगाए । आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउबिजन तिनका चेली सिवेरा एक्थुक्मा र सिवेरा यावुङ्केक्माले काठ, ढुङ्गाको खन्ती र अङ्कुसेले खोरिया फा“डेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले बीउ बिजनको महत्व बुझेर सामुहिक खेतीपाती गर्न सिके ।
खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए । अन्नबालीको बीउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्री सिवेरा याक्थुङ्मा (युमा?) प्रति हार्दिक कृतज्ञता प्रकट गर्न सावायेत्हाङहरूले पहिले सिवेरा याक्थुङ्मालाई चढाए । अनिमात्र सावायेत्हाङहरूले ती अन्नबाली खाने वाचा गरे ।
यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युरोप लगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङ्नाम मनाउँछन् । यस अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलले पनि यहाँ भव्य तथा सव्य रुपमा मनाउने तयारीमा जुटेको अध्यक्ष केरुङ्ले बताउनु भयो ।