कैलाश \ बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष आर्शिवाद स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तल्ले अस्पताल भवनमा १० शैया रहेको छ ।
अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी दरबन्दी रहेको छ । अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहेका छन् । तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।
अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलव्ध हुने जनाईएको छ । अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाको १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।
२१ हजार ८ सय ५६ जनसंख्या रहेको गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटर टाढा छ । जिल्लाकै दुर्गम पालिकामध्येको एक कैलाश गाउँपालिका स्वास्थ्य सुविधामा पछि परेको पालिका हो । यसका स्थानीय उपचारका लागि सदरमुकाम हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए ।