काठमाडौं \ इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ ।इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।
‘ज्यान गुमाउने अधिकाश करिब ७० वर्ष उमेरका छन् । ८७ जना घाइते छन्’, समाचारमा भनिएको छ । तेल अबिब नजिकै रहेको पेताह टिक्वा शहरमा एउटा आवासीय भवनमा मिसाइल खस्दा भवनका सीसा फुटेका छन्, कङ्क्रिटका पर्खालहरू जलिसकेका छन् । धेरै अपार्टमेन्टहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
उत्तरको बन्दरगाह सहर हैफामा करिब ३० जना घाइते भएका छन् । उद्धारकर्मीहरू घटनास्थलमा खोज तथा राहत कार्यमा जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दरगाह नजिकैको विद्युत उत्पादन केन्द्रमा आगलागी भएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार इरानले कम्तीमा १०० वटा मिसाइल इजरायलतर्फ प्रहार गरेको छ । यो आक्रमण शुक्रबार इजरायलले तेहरानमा गरेको आणविक कार्यक्रम तथा सैन्य नेतृत्वमाथिको आश्चर्यजनक आक्रमणको बदलाको रुपमा गरिएको इरानले भनेको छ ।
इरानी रिभोलुसनरी गाड्र्सले यसपटकको आक्रमण नयाँ तरिकाले गरिएको दाबी गर्दै भनेको छ, ‘यसले इजरायलको धेरै तहको प्रतिरक्षा प्रणाली आफैं एकआपसमा भिड्ने स्थिति सिर्जना भयो ।’ यद्यपि, इजरायली सेनाले यसबारे प्रतिक्रिया दिएको छैन । गार्डियनका अनुसार, अधिकारीहरूले पहिले नै सुरक्षा प्रणाली सतप्रतिशत भरपर्दो नरहेको र आगामी दिनहरू कठिन हुने चेतावनी दिँदै आएका थिए ।
आइतबार इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गाड्र्सका गुप्तचर प्रमुख मोहम्मद काजेमीसहित दुई अधिकारीको मृत्यु भएको इरानका समाचार संस्थाहरुले उल्लेख गरेका छन् । आइतबार अबेर इजरायली सेनाले इरानका सतहबाट मिसाइल प्रहार गर्ने स्थलहरूमा आक्रमण गरिएको जनाएको थियो ।
तेहरानमा इजरायली आक्रमणपछि इन्धन डिपोमा आगलागी भएको र आकाशमा ठूलो आगो देखिएको छ, जसले इरानको अर्थतन्त्र र राज्य सञ्चालनमै असर पर्ने संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
यसअघि भएका आक्रमणहरूमा इजरायलमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो, जसमा बालबालिकाहरू पनि परेका छन् ।
इरानमा भने अहिलेसम्म कम्तीमा २२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ९० प्रतिशत सर्वसाधारण रहेको ईरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । क्यानडामा हालै सुरु भएको जी–७ सम्मेलनमा इजरायल–इरान द्वन्द्व प्रमुख एजेन्डाका रुपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
आइतबार सम्मेलनका लागि प्रस्थान गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘मलाई आशा छ सहमति हुन्छ । कहिलेकाहीँ लडेर समाधान खोज्नुपर्ने हुन्छ ।’ जर्मन चान्सलर फ्रेडरिक मर्जले भनेका छन्, ‘मेरा लक्ष्यहरूमा इरानले आणविक हतियार विकास नगरोस्, इजरायललाई आत्मरक्षाको अधिकार होस्, तनाव नबढोस् र कूटनीतिक प्रयासको बाटो खुलोस् भन्ने छ । यो विषय सम्मेलनको शीर्ष प्राथमिकता हुनेछ ।’
तर इरानले कतार र ओमानमार्फत पठाइएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेको बताइएको छ । ‘इजरायली आक्रमण जारी रहँदासम्म युद्धविरामको कुरा हुन सक्दैन,’ एक अधिकारीले समाचार संस्था रोयटर्सलाई भनेका छन् ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले इरानले उच्च स्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही थालिएको बिहीबार घोषणा गरेका थिए । इरानको कदमले आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघनमा भएको नेतन्याहूको जिकिर थियोण् । ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बनधी नयाँ कुटनीतिक वार्ता हुने तय भएका बेला इजरायलले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो ।