कैलाश \ बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफुले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी मकवानपुरको कैलाश गाउँपालिका–४ का धुसराङका एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । आइतबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४ धुसराङका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन् ।
कैलाश गाउँपालिकाले अति विपन्नको रुपमा पहिचान गरी उनीहरुको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसपछि मुख्यमन्त्री बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी केही महिनाअघि घर निर्माण सुरु गराएका थिए । पचास वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांग छिन् । दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउने लगायतका लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घोष गरे ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गर्नुका साथै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले काम अघि बढाएको बताए । बागमती प्रदेशभरका गरिब निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाका साथ प्रदेश सरकारले कार्यविधि बनाएर अघि बढ्न लागेको उनले सनाए । घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना ब्याजमा प्रति परिवार २ लाख रुपैयाँ ऋणसमेत दिइने मुख्यमन्त्रीको भनाइ थियो । कार्यक्रमकैबीच मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतिलाई आयआर्जनका लागि बाख्रा पालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपैयाँसमेत सहयोग हस्तान्तरण गरेका थिए ।
करिब ८ लाख रुपैयाँ लगानीमा भान्सासहित दुई कोठाको जस्ताले छाएको घर निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले बताए ।
मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको ७ लाख रुपैयाँ लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माणको क्रममा रहेको छ ।
घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।